प्रधानमन्त्री दाहालसँग आइएफएडीका प्रमुखको भेट

प्रधानमन्त्री दाहालसँग आइएफएडीका प्रमुखको भेट



काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका छन् ।

भेटवार्तामा उनीहरुबीच आइएफएडी र नेपालबीचको सम्बन्ध, आइएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा भएको थियो । नेपालका कृषि क्षेत्रमा आइएफएडीको सहयोगमा विभिन्न परियोजना सञ्चालित छन् ।

आइएफएडीले विकासशील मुलुकमा गरिबी निवारण र भोकमरी अन्त्यका लागि कृषि क्षेत्रको विकासमा वित्तीय सहयोग गर्दै आएको छ । नेपाल आइएफएडीको सदस्य मुलुक हो । सन् १९७८ मा नेपाल आइएफएडीको सदस्य बनेको थियो ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच इटालीमा भेटवार्ता भएको थियो । त्यस्तै अतिकम विकसित राष्ट्रहरूको समूह (एलडीसी) को अध्यक्षका हैसियतमा प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई सम्बोधन गरेका थिए । त्यस्तै उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए ।

सोमबार नै उनले सात देशमा रहेका नेपाली प्रतिनिधिहरूलाई भेटेका थिए । प्रधानमन्त्री प्रचण्डले नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोएसिया, पोर्चुगल, अस्ट्रिया र आयरल्याण्डका प्रतिनिधिहरूसँग भेट गरेका थिए ।