निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले तोक्यो जरिवाना

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले तोक्यो जरिवाना



काठमाडौं । गत वर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाहीको तयारी गरेको छ । प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३ सय ९८ जना उम्मेदवारलाई खर्च विवरण नबुझाएको भन्दै कारबाही गर्न लागेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी जम्मा २ हजार ४ सय ३५ जनालाई आयोगले १५/१५ हजारका दरले जरिवाना तिर्न निर्देशन दिएको छ । साथै सात दिनभित्र खर्च विवरण बुझाउन पनि आयोगले निर्देशन दिएको छ ।

आयोगले बुधबार एक सूचना जारी गर्दै खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई जरिवाना तोकेको हो । यससँगै खर्च विवरण बुझाउनेहरूको पनि नामावली आयोगले सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेसका गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, माओवादी केन्द्रकी ओनसरी घर्ती लगायतकाे नाम खर्च विवरण नबुझाउनेहरूको सूचीमा छ ।

राजन भट्टराई, शेरधन राई, गिरिराजमणि पोखरेल, महेन्द्रराय यादव, विजय गच्छदार लगायतकाहरूलाई खर्च विवरण नबुझाएकोमा आयोगले जरिवाना तोकेको छ ।

यस्तै आयोगले ७४ जना उम्मेदवारहरूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।