केन्द्रीय समिति बैठकको तयारीमा जुट्यो माओवादी

केन्द्रीय समिति बैठकको तयारीमा जुट्यो माओवादी



काठमाडौं । नेकपा (माओवादी केन्द्र) यही साउन तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकका लागि तयारीमा जुटेको छ । कार्यवाहक पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा आसन्न केन्द्रीय समिति बैठकको तयारीका सम्बन्धमा अनौपचारिक छलफल भएको बताइएको छ ।

बैठकमा केन्द्रीय समिति बैठकको व्यवस्थापन, दस्तावेज तथा कार्यक्रमिक विवरण पेसलगायत विषयमा छलफल भएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । “यही साउन १७ गते बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सम्बन्धमा अनौपचारिक बैठक बसेको हो”, उनले भने । छलफललाई व्यवस्थित गर्ने, सामूहिक छलफल गर्ने कि छुट्टाछुट्टै धारणा राख्ने भन्नेबारे बैठकमा कुराकानी भएको उनको भनाइ थियो ।

आजको बैठकमा केन्द्रीय समितिको बैठकको ‘एजेन्डा’ बारेमा कुनै छलफल नभएको सचिव उपाध्यायले जानकारी दिए । उनले इटाली भ्रमणमा रहेका प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएपछि बस्ने बैठकले एजेण्डा तय गर्ने बताए ।

“प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष स्वदेश फर्किएपछि यही साउन १३ गते बस्ने पदाधिकारी बैठकले एजेन्डा तय गर्छ”, सचिव उपाध्यायले भने । माओवादीको केन्द्रीय समिति बैठक यही साउन १७ गतेदेखि काठमाडौँमा बस्दैछ । बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश र आयोगका पदाधिकारी गरी करिब सात सय बढीको सहभागिता हुने जनाइएको छ । केन्द्रीय समिति बैठकको तयारीस्वरुप आजै अपराह्न ४ बजे पुनः पदाधिकारी बैठक बस्ने उनले जानकारी दिए ।