एमालेको प्रश्न : कृष्णबहादुर महरा र उनका छोरामाथि किन अनुसन्धान भएन ?

एमालेको प्रश्न : कृष्णबहादुर महरा र उनका छोरामाथि किन अनुसन्धान भएन ?



काठमाडौं । नेकपा एमालेले सुन तस्करीमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका बाबुछोरामाथि किन अनुसन्धान भएन भनेर सरकारलाई प्रश्न गरेको छ ।

आज बुधवारको संसद् बैठकको शुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले गएको पुसमा इलेक्ट्रिक सिगरेटभित्र आएको नौ किलो सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा र उनका छोराको नाम विभिन्न सञ्चारमाध्यममा आएको तर उनीहरूमाथि छानबिन नभएको भन्दै आपत्ति जनाए । उनले सरकारकै संरक्षणमा क्विन्टलका क्विन्टल सुन तस्करी भएको पनि आरोप लगाए ।

गिरीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेका छन् । गृहमन्त्रीले भाषण एउटा गर्ने तर तस्करको संरक्षण गर्ने गरेर दोहोरो भूमिका खेलेको भन्दै उनले राजीनामा मागे ।

एमालेले सुन तस्करीकाे विषयमा छानबिन गर्न समिति बनाउन सरकारसँग माग गरेको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेमात्रै शुरु भएको हो ।