प्रज्ञा भवनमा ‘थाङ्ग्रा’ बहस

प्रज्ञा भवनमा ‘थाङ्ग्रा’ बहस



काठमाडौं । प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ मा बुधबार परिचर्चा भयो । प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आज आयोजना गरिएको परिचर्चा कार्यक्रममा राजनीतिज्ञ सन्तोष परियार, अभियान्ता धनकुमारी सुनार र समीक्षक गणेश खनियाँ वक्ताका रुपमा सहभागी थिए । कार्यक्रममा बच्चु हिमांशुले सहकर्ताको भूमिका निर्वाह गरेका थिए ।

उपन्यासमा प्रमुख ४ जना पात्र छन् । सुशान्त सुदूर पश्चिम नेपालको कुनै दलित परिवारमा जन्मिएको मान्छे, माझ किराँत खोटाङको राई लाहुरे परिवारमा जन्मिएकी नुमासँग वैवाहिक सम्बन्ध व्यतित गरिरहेको छ भने सोमा र साया उनीहरूका दुई छोरीहरू हुन् ।

उपन्यासले नेपाली समाजमा व्याप्त पितृसत्तात्मक चिन्तन तथा लैङ्गिक विभेदको विषय उठान गरेको छ । सदियौंदेखिको नेपाली समाजको उत्पीडन र विभेद उपन्यासको मूल विषय रहेको छ । छोरीहरूले बाउको वंश परम्परालाई कसरी निरन्तरता दिन सक्छन् भन्ने खाकासमेत दिइएको छ । उपन्यासमा एकजना दलित पुरुष र एक जनजाति महिलाबीचको प्रेम पनि छ । उनीहरुको प्रेमलाई समाजले हेर्ने दृष्टिकोण र उनीहरुका दुई छोरीको स्वभाव कथामा बेरिएको छ ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक परियारले साहित्यमा जातका कुरा आउनु भनेको सभ्यातामाथिको द्वन्द्व भएको बताए । लामो समयदेखि राजनीति र साहित्यले संयुक्त रुपमा समाज परिवर्तनका लागि आन्दोलन गरेको तर पछिल्लो समयमा राजनीतिले साहित्यलाई बिर्सदै गएको उनको भनाइ थियो । उनी साहित्यमार्फत् समाज परिर्वतनमा लाग्न जोड दिन्छन् ।

सामाजिक अभियान्ता सुनारले थाङ्ग्रा उपन्यासले अन्तरजातिय सम्बन्धमा पारिवारिक मुक्तिका लागि बाटो देखाए पनि समाज परिवर्तनको सन्देश नबोकेको बताइन् । परिवारभन्दा पनि समाज परिवर्तनमा पुस्तकले महत्वपूर्ण भूमिका खेल्न सक्थ्यो तर पुस्तक पारिवारिक मेलमिलापमा सीमित रहेको उनको भनाइ थियो ।

पुस्तक समीक्षक खनियाले अभियान्ता सुनारको भनाइलाई खण्डन गरेका थिए । कथाका पात्र सबै सशक्त हुँदैनन्, सशक्त पात्रको पछाडि कमजोर पात्रको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण हुने उनको भनाइ थियो । उनले गान्धी र नेलशन मण्डेलाका उदाहरण दिँदै भने, ‘भारतीय स्वतन्त्र संग्राममा भगत सिंह नहुने भने गान्धीको अहिंसा आन्दोलन सफल हुँदैन थियो । गान्धीको अहिंसाको आन्दोलन पछाडि भगत सिंहको हतियार महत्वपूर्ण मानिन्छ ।’

नेल्सन मण्डेलाको शान्तिपूर्ण आन्दोलन काला जातिको हिंसात्मक आन्दोलन त्यत्तिकै महत्वपूर्ण मानिन्छ । मण्डेलाको शान्तिपूर्ण आन्दोलनको पछाडि काला जातिको हिंसा यदि नहुने हो भने दक्षिण अफ्रिकामा क्रान्ति सम्भव थिएन । उपन्यासमा पनि समाज परिवर्तनका लागि सबै पात्र सशक्त र शक्तिशाली हुँदैनन् । सशक्त पात्रलाई शक्तिशाली बनाउन अन्य पात्रको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।

‘थाङ्ग्रा’ उपन्यास प्रगति राईको चौथो कृति हो । उनको तीन उपन्यास ‘लेखककी स्वास्नी’, ‘बिर्सिएको मृत्यु, ‘थाङ्ग्रा’ र एक कविता संग्रह ‘वादी विज्ञप्ति’ प्रकाशित छन् । ‘थाङ्ग्रा’ उपन्यास यस वर्षको मदन पुरस्कारको श्रेष्ठ पाँचमा छनोट भएको छ ।