बाल्टिमोरका नेपाली माझ कांग्रेस नेता भण्डारी

बाल्टिमोरका नेपाली माझ कांग्रेस नेता भण्डारी



बाल्टिमोर,अमेरिका। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डाक्टर चन्द्र भण्डारी यतिबेला अमेरिका भ्रमणमा हुनुहुन्छ। वासिंगटन डिसीमा जारी बर्न सर्भाईभर्सहरुको एक सम्मेलनलाई सम्बोधन गर्न आउनु भएका नेता भण्डारीले बुधवार साँझ बाल्टिमोरमा नेपाली कांग्रेसका शुभेच्छुकहरुसँग भेट गर्नु भएको छ।

कांग्रेसको अमेरिकास्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति,अमेरिका मेरिल्याण्ड च्याप्टरले नेता भण्डारीको सम्मान र स्वागतमा आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकको समसामयिक राजनीति र आफ्नो स्वास्थ्य अवस्थाका बारे चर्चा गर्नु भएको थियो।

च्याप्टरका सभापति राजेन्द्र सेन्चुरीको सभापतित्वमा भएको कार्यक्रममा नेता भण्डारीसँगै पूर्वमन्त्री एवं पूर्वराजदूत कांग्रेस नेता दीपकुमार उपाध्यायले पनि नेता भण्डारीको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै मन्तव्य व्यक्त गर्नुभएको थियो। च्याप्टरका महासचिव नेत्र केसीले संचालन गरेको कार्यक्रममा नेपाली जनसम्पर्क अमेरिकाका केन्द्रीय सदस्य गौतम दाहालले स्वागत गर्नु भएको थियो। कार्यक्रममा समितिका केन्द्रीय सदस्य गोपाल बिश्वकर्मा, समितिका केन्द्रीय सल्लाहकार उमा शहर र एनआरएन अमेरिकाका अध्यक्ष डाक्टर अर्जुन बन्जाडेले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ अन्तरराष्ट्रीय समितिका अध्यक्ष अमर छन्त्यालले नेता भण्डारीलाई नेपाली ढाका टोपी लगाईदिएर सम्मान गर्नु भएको थियो।

कार्यक्रममा बाल्टिमोर वरपर रहेका नेपाली कांग्रेसका शुभेच्छुक र स्थानीय संघ,संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।