निलो आकाशमा सफा सेतो बादलका टुक्रा । कपासको फुलका गुच्छा गुच्छा फुले जस्तो देखिने । शून्य प्रदुषणको सफा आकाश । हिमाल पहाडलाई छिचोल्दै, पबित्र पार्दै आएकी गंगा सागर कर्णाली । कल्कल् कञ्चन पानीको कर्णाली नदीको नम्र भद्र सुस्त चाल ।
अर्को छेउमा नागबेली आकारमा बगिरहेकी बबई नदी । मनसुनको पीडाबाट मुक्ति पाएर रमाइरहेका, पौडिरहेका, उफ्रिरहेका र घाम तापिरहेका गोही, कछुवा, माछा, डल्फिन, ओत र हाँसहरु ।
मुसलधारे बर्षाले सप्रेको हरियो कालो बन जंगल । रङ्गीबिरङ्गी जंगली फुलको मगमग वासना । मनसुनले सफा गरेर टल्किरहेको चम्किरहेको मेरो स्वर्ग–बर्दिया राष्ट्रिय निकुञ्ज ।
त्यस्तो दशै पो दशै ।
२३ बर्ष पुरानो त्यो स्वर्गको दशैलाई स्मरण र सम्मान गर्न तथा आज त्यही र उस्तै स्वर्गमा दशै मनाइरहेका होनहार प्रतिबद्ध त्यागी आजका पहरेदारहरुलाई हार्दिक शुभकामना टक्र्याउन यो आलेख पस्किएको छु ।
चुनौतीको चाङ्ग
सक्कली राजा शिकार सौख त्यागेर संरक्षणमा दत्तचित्तसाथ समर्पित भएको परिवर्तनले हामीलाई संरक्षणमा मरिमेटी लाग्न प्रेरणा मिलेको थियो ।
२०४६ को परिवर्तनपछि नयाँ राजाहरुको बिगबिगी थियो । बि.सं. २०५२ बाट प्रारम्भ भएको द्वन्द्वले नयाँ सशस्त्र शिकारीहरु जन्मायो ।
स्वर्गको वरिपरि उसै राणा र ठकुरीहरुको बस्ती र बाहुल्यता । दशै–तिहारको बिदा छुट्टी र फुर्सद । शिकारीहरुले बन्दुक धार लगाए । गोलीगठ्ठा तयार पारे । शिकारको योजना बुने ।
सुदूर पश्चिमका राजाहरुले बदेल समाते । शिकार खेले । राजधानी लैजान सुकुटी तयार पारे ।
हामीलाई ईण्टेलिजेन्सको भारी आइलाग्यो । सुनिनसक्नु । थामिनसक्नु ईण्टेलिजेन्स ।
जनसम्पर्क, सु–सम्बन्ध, समन्वय, सहकार्य, संयुक्त टिम निर्माण र साझा दायित्वको आदर्श र अभ्यास नै ईण्टेलिजेन्स थियो । प्रकृति संरक्षण गरौं, जोगाऔं र भावी सन्ततीलाई हस्तान्तरण गरौं भन्ने साझा संकल्प नै ईण्टेलिजेन्सको मुहान थियो ।
हाम्रो तयारी
हामीले साझा अवधारणा बनायौं –
यस्ता दशै कत्ति आए कति गए । भविष्यमा कति आउँछन् आउँछन् । न रोक्न सकिन्छ । न भाग्न सकिन्छ ।
तर निकुञ्जको काज र हालीमुहाली यो जुनीमा फेरि फेरि आउँदैन । भविष्यमा खुट्टा हाल्न पाइदैन अथवा प्रवेश गर्न छिनछिनी पैसा गनेर तिर्नु पर्दछ ।
त्योभन्दा ठूलो, निकुञ्ज हाम्रो मन्दिर हो । ढुकुटी हो । चलअचल पूँजी हो । पवित्र र धार्मिक जिम्मेवारी हो । जति सेवा गर्यो उति धेरै आत्मसन्तुष्टि, गर्व र धर्म ।
ठूला चाड दशैं–तिहार–छठ्–मागीमा हामीले हाम्रो स्वर्गजस्तो निकुञ्जलाई पसिनाले नुहाइदिने गुन लगाउने, ऋण बोकाउने भद्र वाचा गर्यौं ।
आवश्यक परे ज्यानको पर्वाह नगरी बलिदानी दिन तत्पर रहने कसम खायौं ।
हामीले निकुञ्जलाई हानी नोक्सानी हुन नदिने प्रतिज्ञा गर्यौं । गौंडा छेक्ने र अबैध घुसपैठ्लाई रोकिछाड्ने संकल्प गर्यौं । शिकारीलाई पस्न परै जावस बन्यजन्तुलाई छड्के आँखाले हेर्न नदिन दृढ निश्चयी भयौं ।
निकुञ्जमा नदेखेको नटेकेको ठाउँमा पुगेर त्यहाँको माटोको टिका लाउने र सुगन्धमा बिलिन हुने कसम खायौं ।
घर परिवारलाई ‘अर्को पटक’ भनेर गस्तीमा दौडिन पौडिन रमाउँन अभ्यस्त भयौं । गस्तीको नशा लाग्यो । स्वर्गको सौन्दर्यताले मोहनी लगायो । गस्तीमा दशैको दस गुणा बढी मजा, आनन्द, आउन थाल्यो । झरना, छाल, ताल, मचान, बगरमा पवित्र मन, कर्म र धर्मले मनाएको दशैं पो दशैं ।
तार्गेटको बर्गीकरण
पहिलो तार्गेट – शिकारी राजाहरु । सक्कली हुन कि नक्कली । न छाड्ने ।
दोश्रो तार्गेट – शिकारी मन्त्री, माननीय, सेना प्रहरी निजामति कर्मचारी, भुतपूर्वक हुन कि वर्तमान अथा भावी उम्मेदवार । नछाड्ने ।
तेश्रो तार्गेट – सीमा पारीको बल मिचाई घुसपैठ र शिकार । नछाड्ने ।
अन्तिम तार्गेट – स्थानीय समुदायहरु; जसलाई सम्झाई बुझाई सचेत गराएर ३ पुस्ते रेकर्ड राखी छाडिदिने । गम्भीर प्रकृतिको अपराध भएमा निकुञ्ज प्रशासनलाई बुझाई दिने ।
संरक्षण मोडल
४–४ जनाको सानो गस्ती । सर्वत्र भ्याउने च्याउने समाउने अनगिन्ती गस्ती । पूरै निकुञ्जलाई सुरक्षा छाताभित्र र आँखाभित्र राख्न सक्ने अनुशासित संयुक्त गस्ती दिन रात नभनी अनवरत पठाइरहने रणनीति अख्तियार गर्यौं । ता कि कोही निकुञ्जभित्र् प्रवेश गर्न नसकोस् । खाली गौंडा नभेटोस् र, हामीलाई समाउने, पक्रने, फायर खोल्ने अप्रिय कदम चाल्न नपरोस् ।
बिना धरपकड र बिना फायरको शान्त संरक्षण हाम्रो सपना कल्पना र संरक्षण रणनीति थियो ।
अदालत र नेपाल प्रहरीको इमान्दार सहकार्य थियो । ‘एउटा टिम साझा काम’ अवधारणाको सर्बाधिक सफल अभ्यास भरहेको थियो ।
गस्ती गर्न तँछाड् मछाड् थियो । सेना र निकुञ्ज प्रशासनको गस्ती प्रतिस्पर्धा थियो । स्वस्थ र प्रेमको प्रतिस्पर्धा । त्यसलाई हामीले संयुक्त गस्ती मोडलमा ढालेका थियौं ।
शिकारी र तस्करको सीमा नहुने भएकोले उसलाई आकास–पात्ताल–पानी मुनि होस वा अन्तर्राष्ट्रिय सीमा पारी नछाड्ने र कानुनको दायरमा ल्याइ छाड्ने हाम्रो रणनीति र अभ्यास धुमधाम् सफल भएको थियो ।
उपलब्धि
निकुञ्जभरि शान्ति शान्ति शान्ति ।
बन्यजन्तुलाई शान्ति ।
जनतालाई शान्ति ।
हामीलाई शान्ति ।
सवैलाई शान्ति, हाई सञ्चो र जीतैजीत् ।
स्थानीय र राष्ट्रिय प्रकृतिबिद् संरक्षणबिद्, अध्येता र अनुसन्धानकर्ताबाट शुभ भविष्यवाणी हुन थाल्यो –
“बर्दिया राष्ट्रिय निकुञ्जमा अर्को १० बर्ष शान्ति छाउने सुनिश्चित भयो ।”
बर्दिया राष्ट्रिय निकुञ्जको उत्कृष्ट संरक्षण र ब्यवस्थापनको हल्ला राजधानी पुग्यो । त्यसपछि दिल्ली हुँदै अफ्रिकासम्म पुग्यो ।
राजा बीरेन्द्र चुस्ता पोसाक लगाएर सवारी भयो । भाई अधिराजकुमार र छोराहरुलाई उही पोसाकमा सामेल गराईबक्सियो । स्थानीय समुदायको आर्थिक जीविकोपार्जन, शिक्षा–स्वास्थ्यको पहुँच, सीप अभिबृद्धि र रोजगार मार्फत समृद्धिमा छिटो कसरी पुग्ने बिषयमा छलफल र निर्देशन केन्द्रित थियो । राजाबाट रातको जोखिम मोलेर अनकण्टार गुठी पोष्टको भ्रमण भै सकल दर्जाको हौसला र मनोबल उठाईबक्सियो ।
अधिराजकुमार ज्ञानेन्द्रको साताब्यापी भ्रमण भयो । बर्दियाबाटै सडक यात्रा गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पुगेर अहोरात्र खट्टिने फिल्ड फ्रण्टलाईन स्टाफहरुलाई हौसला दिने काम भएको थियो ।
डल्फिन संरक्षणको फिल्ड अध्ययन र सर्भे गर्न युवराज निराजनको अर्को साताब्यापी भ्रमण भयो ।
३-३ वटा भ्रमण चलाउने अपूर्व अवसर प्राप्त हुँदा मैले आफूलाई भाग्यमानी ठानेको थिएं ।
जिल्लावासीहरु गौरवान्वित भएका थिए ।
हात्तीसारेहरु सबैभन्दा बढी हर्षित खुशी र सुखी थिए ।
हामी लर्को लागेर तक्मा थाप्न राजदरबार गयौं । तक्मा टिममा थाप्यौं । निकुञ्ज प्रशासन, सेना र संरक्षण साझेदार संघ–संस्थाहरुको संयुक्त टिम सम्मानित भयो ।
निकुञ्जमा उत्कृष्ट संरक्षण जिम्मेवारी निर्वाह गरे वापत शिवदलले अन्तर्राष्ट्रिय संरक्षण पुरस्कार अब्राहम कन्जर्भेसन अवार्ड पाएर ईतिहास रच्यो । लर्को लागेर सकल दर्जा शान्ति सेना गएर त्यहाँ पनि सुनौलो ईतिहास रचे ।
मलाई निकुञ्ज भित्र अर्को गुल्म बरखको नेतृत्व गर्ने दुर्लभ अवसर प्राप्त भयो । नेपाली सेनाको ईतिहासमा पहिलो अवसर र अभ्यास ।
आभार
सरल, सालीन, भद्र, त्यागी मेरा हाकिम चीफ वार्डेन शिवराज भट्ट र उहाँको टिम प्रति आजपर्यन्त आभारी छु । तत्कालीन रेञ्जर रमेश थापा जस्तो हार्डकोर संरक्षणकर्मी नभएको भए संरक्षण सफलता पाउन धेरै लामो समय लाग्ने थियो होला । अनन्य मित्र रमेश मेरा रोल मोडल हुनुहुन्छ र आज पर्यन्त अवकास पछि पनि संरक्षणमा उत्तिकै सक्रिय र समर्पित हुनुहुन्छ ।
किङ्ग महेन्द्र ट्रष्टको संरक्षण योगदान, छबि, ब्यावशायिक धर्म र राष्ट्रिय अन्तर्राष्ट्रिय बिश्वास असीम थियो । अपरम्पार थियो । कति धेरै चुस्त, दुरुस्त, अनुशासित र ब्यावशायिक संगठन ? बर्णन गर्न म संग शब्द छैन ।
उस्तै अन्तर्राष्ट्रिय वजन र उचाई थियो बिश्व बन्यजन्तु कोषको । संरक्षणमा समर्पित ती संरक्षण साझेदार संघ संस्थाहरुको मिलाप, सद्भाव, एकता र सहकार्य अराजनीतिक थियो । संरक्षण केन्द्रित थियो । स्थानीय जनताको उत्थान विकास र शान्ति केन्द्रित थियो ।
डिजि डा. तिर्थमान मास्के, विश्व वन्यजन्तु कोषका डा. चन्द्र गुरुङ्ग र महेन्द्र प्रकृति संरक्षण कोषका डा. अरुप रजौरे हल बाँधेर टिममा फिल्ड भ्रमण गरिरहनु हुन्थ्यो । एक्लै दुक्लै कसैको भ्रमण हुँदैन थियो । त्यो टिम उर्जाको मुहान लाग्दथ्यो ।
फिल्डस्थित कोषहरुका आयोजनाहरु संरक्षणमा दत्तचित्तसाथ बिलिन थिए । पूर्ण समर्पित थिए । डा. शान्तराज ज्ञवाली, सरिता ज्ञवाली, सुशीला नेपाली मेरा संरक्षण गुरुहरु प्रति म आजीवन अनुग्रहित छु ।
स्वतन्त्रसँग पहलता लिएर काम गर्न दिने बाहिनीपति, निर्देशक र प्रधानसेनापतिहरुसँग कृतज्ञ छु ।
केन्द्रको टिमबिल्डिङ्ग र टिमवर्क देखेर हामीले फिल्डमा उस्तै टिम बिल्डिङ्ग र टिमवर्कको अभ्यास गर्यौं सफल भयौं ।
चीफ वार्डेन, कोषहरुका आयोजना प्रमुखहरु, माननीय न्यायाधीस, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायत क्षेत्रीय अधिकारीहरुको टिम मजवुत थियो । सिमेण्टले जोडेको जस्तो एकढिक्का थियो । उहाँहरु सवैको संरक्षण चासो–चिन्ता, सक्रियता र योगदानको म मुक्त कण्ठले प्रशंसा गर्न चाहान्छु ।
शुभकामना
आज चुनौतीको चाङ्ग छ । निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र अकल्पनीय चुनौतीबाट गुज्रिरहेका छन् ।
आज संरक्षणको प्रमुख चुनौती र बाधा बिरोध सत्ता र सरकार भएको छ । बाटो बिराएको बिग्रेको, बिकारयुक्त राजनीति भएको छ । राजनीति बिकृति, विसंगती र दबाब प्रभावले संरक्षण अपाङ्ग भएको छ । भ्रष्टाचारजन्य कुशासनले समग्र प्रकृति थिलथिलो भएको छ । प्रकृति माता बिचौलिया र दलालद्वारा बलात्कृत् छिन् ।
जनताको नासो, राष्ट्रिय ढुकुटी र अन्तर्राष्ट्रिय सम्पदालाई जनताको हातबाट खोसेर कोही अमुक राजश्व छलेर धनाढ्य भएका काला ब्यापारीलाई सुम्पिने षड्यन्त्रको सिकार भईरहेका छन् अवोध संरक्षण क्षेत्रहरु । प्रकृति र जैविक बिबिधताका खानीहरु ।
तथापि, यी नीति निर्माता निर्मित र सत्ता प्रायोजित अकल्पनीय षड्यन्त्रहरुको बाबजुद संरक्षणको खातिर फिल्डमा अहोरात्र खट्टिरहेका सेना, प्रहरी, प्रशासन, प्राबिधिक, साझेदार संघ–सस्था र स्वयंसेवी युवा पंक्तिलाई महान चाड दशै तिहार छठ मागीको एकमुष्ट हार्दिक शुभकामना टक्र्याउन चाहान्छु । उहाँहरुको टिमवर्कको सराहना गर्दै संरक्षण समर्पण र त्यागलाई सलाम टक्र्याउँदछु ।
अन्त्यमा, पूर्व संरक्षणकर्मीको हैसियतले फिल्डलाई आश्वस्त पार्न चाहान्छु – “एकदिन सत्यको जीत हुनेछ । प्रकृतिको जीत र बिकृतिको हार हुने छ । बिज्ञले अनबिज्ञ र बिचौलियालाई पाखा लाउने सुदिन आउनेछ । त्यसपछि प्रकृतिको खाँडो जाग्ने छ । फिल्डमा गरेको अराजनीतिक र पवित्र त्यागको कदर सम्मान हुने छ । मलाई जस्तै आजीवन आत्मसन्तुष्टि, विजयभाव र गौरववोध भइरहने छ ।
समस्त फिल्ड फ्रण्टलाईन स्टाफहरुलाई पुनः सलाम र शुभकामना ।
प्रतिक्रिया