केपी ओली कप : बागमतीको फराकिलाे जित

केपी ओली कप : बागमतीको फराकिलाे जित



पोखरा । पोखरामा जारी केपी ओली कप टि २० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले जित सुरुआत गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा १ सय ८५ रनको लक्ष्य पछ्याएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रेड’ १४ ओभर २ बलमा ७५ रन मात्र बनायाे ।

एकेडेमी ‘रेड’ का लागि कप्तान अमर मिश्र र विजय प्रजापतिले सर्वाधिक समान १३-१३ को योगदान दिए । निर्मल थापाले १०, सन्तोष यादवले १२ रन बनाए ।

बागमतीका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका सन्दीपले १६ रन खर्चेर ४ विकेट लिए । प्रतिश जिसी २, सुभाष खत्रीले ३ विकेट, रिजन ढकालले १ विकेट झारे ।

बागमतीका लागि ओपनर रित गौतमले सर्वाधिक ७४ रन बनाए । शुभ कंसाकारले २७, सन्दीप लामिछानेले १८, गौरव खड्काले अविजित १७ र प्रतीक श्रेष्ठले १४ रनको योगदान दिए ।

बलिङतर्फ एकेडेमी ‘रेड’ का विपर्सन केसीले ३ विकेट लिए । सन्देश थापा र सन्तोष यादवले १-१ विकेट लिए ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बिहिवारबाट सुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता छ ।