‘तीन लाख सिरानीमा हालेर सुत्नुपर्ने’ खोटाङ, ऋण काढेर हेलिकोप्टर चार्टर गर्छन् विरामी

‘तीन लाख सिरानीमा हालेर सुत्नुपर्ने’ खोटाङ, ऋण काढेर हेलिकोप्टर चार्टर गर्छन् विरामी



खोटाङ । कोभिड–१९ बाट संक्रमितलाई हेलिकोप्टर चार्टर गरेर अस्पताल लगिएको छ । संक्रमण पुष्टि भएपछि अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेको अवस्थामा स्वास्थ्यमा थप समस्या निम्तिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका बस्नेत थरका पुरुषलाई २ लाख ३० हजारमा माउण्टेन हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको हो ।

संक्रमण पुष्टि भएपछि अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेको अवस्थामा अक्सिजनको मात्रा घटेपछि संक्रमितलाई काठमाडौं पुर्‍याइएको हो । संक्रमितलाई टिचिङ अस्पतालमा भर्ना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडासदस्य प्रकाश श्रेष्ठले बताए ।

कोभिड–१९ को महामारीका क्रममा खोटाङका दर्जनौं संक्रमित अस्पताल पुग्नका लागि हेलिकोप्टर चार्टर गर्न बाध्य छन् । जिल्लामा कोभिड–१९ को संक्रमण पुष्टि भएको अवस्थामा स्वास्थ्यमा गम्भीर समस्या देखिए तत्काल अस्पताल पुर्‍याउनका लागि लाखौंमा हेलिकोप्टर चार्टर हुने गरेको छ । अन्य किसिमका रोग लागेका बिरामी वा घाइतेलाई काठमाडौं लैजानेक्रममा पनि कम्तीमा २ लाखमा हेलिकोप्टर चार्टर गर्ने गरिएको छ । जेठ ५ गतेयता मात्र संक्रमितलाई अस्पताल लैजानका लागि ९/१० पटक हेलिकोप्टर चार्टर भइसकेका छन् । कतिपय तत्काल अस्पताल पुर्‍याउनुपर्ने अवस्थाका बिरामी बोक्नका लागि हेलिकोप्टर चार्टर गर्नुको विकल्प नभएको स्थानीय बताउँछन् ।

अस्पताल पुग्नका लागि हेलिकोप्टर चार्टर गर्ने आर्थिक हैसियत सबै परिवारको छैन । आर्थिक अवस्था मजबुत भएका वा ऋणपान गर्न सक्ने बिरामी हेलिकोप्टर चार्टर गरेर अस्पताल पुग्छन् । हेलिकोप्टर चार्टर गर्न नसक्ने अवस्थाका अधिकांश बिरामी अस्पताल पुग्न नपाउँदै ज्यान गुमाउँछन् । आकस्मिक अवस्थामा अस्पताल जानुपर्दा हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था भएकै कारण खोटाङलाई ‘तीन लाख सिरानीमा राखेर सुत्नुपर्ने जिल्ला’का रुपमा चिनाउने गरिएको छ ।