अफगानिस्तानबाट १३ हजार नागरिकको उद्धार, काबुल एयरलिफ्टमा थप ज्यान जानसक्छ : बाइडेन

अफगानिस्तानबाट १३ हजार नागरिकको उद्धार, काबुल एयरलिफ्टमा थप ज्यान जानसक्छ : बाइडेन



न्युयोर्क (एजेन्सी) । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राजधानी काबुलमा हवाई उद्धारका क्रममा थप ज्यान जान सक्ने बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट अमेरिकी नागरिकको फिर्ता ल्याउने क्रममा ज्यान जाने खतरा रहेको बताएका हुन् । यो खतराबिना एयरलिफ्ट सफल हुन मुस्किल रहेको उनको भनाइ छ ।

केही दिनअघि काबुल विमानस्थलमा अमेरिकी एयरफोर्सको विमानमा झुण्डिएर यात्रा गर्न खोज्दा केही मानिस खसेका थिए । जसमा एक जना युवा फुटबल खेलाडी भएको खुलेको थियो ।

राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट अमेरिकाले १३ हजार नागरिकको उद्धार गरेको पनि जानकारी गराउँदै भने, ‘यो इतिहासकै सबैभन्दा ठूलो र मुश्किल एयरलिफ्ट हो ।’

बाइडेनले सबै अमेरिकी नागरिकसहित अमेरिकी फौजलाई सहयोग गर्ने ६५ हजार अफगानी नागरिकको पनि उद्धार गरिने प्रतिबद्धता जनाए । स्वदेश फर्किन चाहने अमेरिकीलाई फिर्ता ल्याउने बाइडेनको प्रतिबद्धता छ ।