धर्माकुमारीसँग कहिल्यै भेट नहुने गरी छुट्टिए दलबहादुर

धर्माकुमारीसँग कहिल्यै भेट नहुने गरी छुट्टिए दलबहादुर



जाजरकोट । गत शुक्रबारदेखि एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्बिरमा अचेत अवस्थामा रहेकी आमाको काखमा एउटा बालकलाई देख्न सकिन्छ ।

तस्बिरमा देखिएकी महिलाको नाम धर्माकुमारी बटाला हो । २८ वर्षीया बटालाको माइतीघर डडेल्धुराको अजयमेरु गाउँपालिका–३ गुनपाल हो । उनको विवाह रुकुम–पश्चिमको आठबीसकोट नगरपालिका–९ का दलबहादुर बटालासँग भएको हो ।

तस्बिर उनी रुकुम पश्चिमको राडीबाट बाँकेको नेपालगञ्जमा जाँदा रात्रीबसमा लिइएको हो । मुटुरोगी उनी थप उपचारका लागि ३२ महिने छोरा किरणलाई बोकेर बिहीबार नेपालगञ्ज जाँदै थिइन् । उपचारका लागि गाउँबाट नेपालगञ्ज जाने क्रममा बसभित्रै बीच बाटोमै उनको ज्यान गयो ।

उनको उपचारमा पहिला पनि चार लाखभन्दा बढी खर्च भइसकेको बताउँदै श्रीमान् दलबहादुर भन्छन्, ‘मैलै नै उपचारका लागि बोलाएको थिएँ । शुक्रबार बिहान कोहलपुरमा भेट्न पर्खिरहेको थिएँ । तर उनले बाटोमै ज्यान गुमाइसकिछन् ।’ रातिसम्म फोनमा कुराकानी गरेका दम्पती अब कहिल्यै भेट नहुने गरी छुट्टिएका छन् ।

धर्माकुमारी चढेको बसका यात्रीका अनुसार बान्ता आउने बताएपछि उनका लागि सिंगल सिट मिलाइएको थियो । ‘सुर्खेत र बर्दियाको सिमानामा पर्ने हरिया लेकमा आइपुगेपछि उनको छोरो रोएको आवाज सुनियो । अगाडि गएर हेर्दा आमाको काखमा बालक रोइरहेका र धर्मा हलचल गर्न नसक्ने अवस्थामा थिइन्’, एक यात्रुले भने ।

रोइरहेको बच्चालाई भुलाउन धेरै यात्रुले उनलाई पालैपालो समाते पनि नमानेपछि आमा धर्माकुमारी बटालाको काखमा बच्चालाई राखिएको थियो । त्यहीबेला एक यात्रुले यो तस्बिर खिचेका थिए ।