पन्जशिरमा तालिवानले फहरायो विजयको झन्डा

पन्जशिरमा तालिवानले फहरायो विजयको झन्डा



एजेन्सी, काबुल । तालिबानले अफगानिस्तानको उत्तर पूर्वी क्षेत्रमा अवस्थित पन्जशिर प्रान्तमा भएको युद्धमा आफूहरू विजयी भएको घोषणा गरेको छ । सो उपत्यकामा तालिवान र त्यहाँका विद्रोही न्यासनल रेजिस्टेन्स फ्रन्टबीच चार दिनदेखि लडाइँ भएको थियो । काबुल कब्जा गरे पनि सो प्रान्तमा तालिवान पुग्न सकेको थिएन ।

सोमवार अबेर सार्वजनिक गरिएको एउटा भिडियोमा लडाकुहरुले तालिवानको झन्डा उचालेको देखिन्छ । तर, विद्रोही फ्रन्टले भने आफूहरु सबै रणनीतिक स्थानमा उपस्थित रहेको जनाउदै युद्ध जारी रहेको बताएको छ । उसले तालिवानबिरुद्ध देशव्यापी विद्रोह गर्ने चेतवानी दिएको छ ।

‘तपाई जहाँ भए पनि तालिवानबिरुद्ध देशव्यापी विद्रोह गर्न आह्वान गर्छु’, फ्रन्टका नेता अहमद मसुदले भने । तालिवानलाई मान्यता दिने अन्तर्राष्ट्रिय समुदायप्रति उनले असन्तुष्टि जनाएका छन् ।

तालिवानले तीन साताअघि काबुल नियन्त्रणमा लिए पनि पन्जशिर उसको नियन्त्रण बाहिर थियो । करिब दुई लाख जनसंख्या भएको पन्जशिर उपत्यकालाइ चारैतिर डाँडाले घेरेको छ । यसअघि सन् १९८० को दशकमा रसिया र १९९६ मा मा तालिवानले गरेको हमलालाई पन्जशिरका मानिसले बिफल पारिदिएका थिए ।