अफगानिस्तानमा तालिवानद्वारा नयाँ सरकार घोषणा

अफगानिस्तानमा तालिवानद्वारा नयाँ सरकार घोषणा



काबुल । अफगानिस्तानमा तालिवानहरुले नयाँ सरकार घोषणा गरेका छन् । काबुल कब्जा गरेको तीन सातापछि तालिवानले सरकार घोषणा गरेको हो । घोषणा अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुने भएका छन् । त्यस्तै, उपप्रधानमन्त्री अब्दुल गनी बरादर हुने तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन् । बरादर तालिबान समूहका सहसंस्थापक समेत हुन् । उनी यसअघि कतारको राजधानी दोहामा अमेरिका र तालिवानबीच सम्पन्न शान्तिवार्तामा सहभागी हुँदै आएका थिए ।

समूहका अनुसार नयाँ मन्त्रिपरिषदमा सिराजुद्दिन हक्कानी निमित्त गृहमन्त्री हुनेछन् । उनी हक्कानी सञ्जालका प्रमुख समेत हुन्। अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो । सिराजुद्दिन र उनका बाबुले सन् २००८ मा काबुलस्थित भारतीय दूतावासमा पनि आक्रमण गरेका थिए। सो हमलामा ५८ जना मारिएका थिए।

त्यस्तै, कार्यबहाक रक्षामन्त्री मुल्लाह याकुब र कार्यबहाक विदेशमन्त्री आमिर खान हुनेछन् । तालिवानले गत शुक्रबार नै नयाँ सरकार गठन गर्ने बताए पनि आन्तरिक विवादका कारण सरकार गठनमा ढिलाइ भएको हो ।

केही दिनयता तालिबानले जुनसुकै बेला सरकार गठनको घोषणा गर्न सकिने बताउँदै आएका थिए । अन्तर्राष्ट्रिय समर्थन खोज्नु र बढ्दो मानवीय संकटलाई सम्बोधन गर्नु तालिबान सरकारको मुख्य मुख्य काम हुनेछ ।