काठमाडौं महानगरको शहरी व्यवस्थापनमा सहकार्य गर्न यूसीएलजी इच्छुक

काठमाडौं महानगरको शहरी व्यवस्थापनमा सहकार्य गर्न यूसीएलजी इच्छुक



काठमाडौं । स्थानीय सरकार तथा सहरहरुको अन्तर्राष्ट्रिय सञ्जाल एसिया प्यासिफिक (यूसीएलजी)का पदाधिकारीले काठमाडौं महानगरको सहरी व्यवस्थापनमा सहकार्य गर्न इच्छा देखाएका छन् ।

सञ्जालका एशिया प्यासिफिक अध्यक्ष अशोक व्याञ्जु, महासचिव डा. बर्नाडिया इरावती जन्द्रादेवी, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, प्रशासन विभागका प्रमुख महेश काफ्ले, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख डिल्लीराम बास्तोला लगायत पदाधिकारीको बैठकमा अन्तरदेशीय सहकार्यमा काठमाडौं महानगरका विषयमा कुराकानी भएको थियो ।

त्यसक्रममा सञ्जालका अध्यक्ष व्याञ्जुले काठमाडौं देशको मुहार भएकोले यसलाई थप उज्यालो बनाउन सहकार्य उपयुक्त हुने बताए । ‘काठमाडौंमा गरिएका अभ्यासले अन्य सरकारमा पनि लाभ पुग्ने भएकोले काठमाडौंसँग सहकार्य गर्ने हाम्रो प्रस्ताव हो,’ व्याञ्जुको भनाइ थियो ।

महानगरकी उपप्रमुख खड्गी श्रेष्ठले सञ्जालले शहरी वातावरण सुधारका लागि मानव मलमुत्र व्यवस्थापनमा गरेको कामबाट आफू प्रभावित भएको बताउँदै अन्य सहरको अनुभव काठमाडौंले सिक्न सक्ने बताइन् ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले अन्तरनगर सिकाइबाट नागरिक तहमा लाभ प्रदान गर्न महानगरले राष्ट्रिय अन्तर्राष्ट्रिय नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गरेको उल्लेख गरे ।

‘शहरी विकास र व्यवस्थापनका कोणबाट काठमाडौंसँग सम्भावना र क्षमता दुवै छन् । यो क्षमतालाई पूरा उपयोग गर्न काठमाडौंको सक्रियता भए हामी सहकार्य गर्न तयार छौँ,’ छलफलमा सञ्जालकी महासचिव डा. बर्नाडियाले भनिन् ।

सञ्जालको आठौं सम्मेलन २२-२४ भदौमा काठमाडौँमा सञ्चालन भएको थियो । सम्मेलनमा स्थानीय सरकार प्रमुखहरुले कोभिड व्यवस्थापनमा आफूले गरेको प्रयास र अब चुनौतीका विषयमा प्रस्तुति दिएका थिए ।

सञ्जालमा विश्वभरका २ लाख ४० हजार बढी शहर र एसिया प्यासिफिक क्षेत्रबाट ७ हजार बढी शहर सदस्य छन् । यसमा काठमाडौं महानगरसहित नेपालका १० वटा पालिका सदस्य छन् ।