शरणार्थीका पीडा बुझाउने मालिका केशरीको उपन्यास ‘दुङाल’

शरणार्थीका पीडा बुझाउने मालिका केशरीको उपन्यास ‘दुङाल’



काठमाडौँ । शरणार्थी जीवनका पीर, दुःख, पीडा कस्ता हुन्छन् भन्ने विषय ‘दुङाल’ उपन्यासका माध्यमबाट साहित्यकार प्रकाशकुमार श्रेष्ठ ‘मालिका केशरी’ ले पाठकसमक्ष प्रस्तुत गर्नुभएको छ ।

प्रेमका विषयलाई उपन्यासमार्फत् पस्कन उपन्यासकार ‘मालिका केशरी’ को यो तेस्रो उपन्यास हो । तिब्बती भाषाको शब्द ‘दुङाल’ को अर्थ दुःख, पीडा, पीर, आर्तनाद भन्ने हुन्छ । जन्मभूमि छोडेर अरुका देशमा शरण लिई जीवन बिताउन बाध्य पारिएकाका पीडालाई उपन्यासमा सरल, सहस एवं प्रेमपूणर् भाषाशैलीमा उतारिएको छ ।

तिब्बतीयन शरणार्थीका पीडालाई विषयवस्तु बनाएर लेखिएको उपन्यास साहित्यकार केशरीको बाल्यकालको भोगाइको यथार्थरुप हो । बाल्यकालमा साथीसँगै तिब्बती शरणार्थी शिविरमा रहेकासँग सहयात्रा गरेको सम्झनालाई उहाँले औपन्यासिकस्वरुप दिनुभएको हो । शरणार्थी शिविरका अपरिचित अनुहारले यो आख्यान लेख्न प्रेरणा दिएको लेखक केशरीले बताउनुभयो ।

विभिन्न कारणले देश छोड्न बाध्य पारिएकाको जीवन खोज्दै ‘दुङाल’ उपन्यास तयार पारिएको छ । तिब्बती शरणार्थीको सेरोफेरोमा आख्यान अघि बढेको छ । तिब्बतीले भोगेका विषय जसलाई उपन्यासकारले बाल्यकालमा देख्नुभयो, त्यसकै एक तहलाई उपन्यासमा प्रस्तुत गरिएको छ । तिब्बती जुनसुकै कारणले आफ्नो देशबाट विस्थापित भए पनि ती हाम्रो समाजका अङ्ग बनेकाले उनीहरुलाई गर्नुपर्ने व्यवहारका बारेमा मानवतावादी दृष्टि राख्नुपर्ने लेखकको भनाइ छ ।

शरणार्थी शिविरको पर्खालभित्रबाट जीवन खोजिरहेकालाई सहयोगी भाव राख्न उपन्यासले प्रेरणा दिन्छ । मानवीयता सम्झेर सबैले व्यवहार गरेमा शरणार्थीका अनुहार र हृदयबाट दुङाल अर्थात् पीर, दुःख, पीडा हटेर जाने सन्देश उपन्यासकारले दिनुभएको छ । शरणार्थीका सन्ततिलाई पनि आफू उभिएको भूमि आफ्नै पुर्खाको भूमि हो भन्ने अनुभूति दिन उहाँले आह्वान गर्नुभएको छ । कृति आख्यान भएकाले यसले राजनीतिक र ऐतिहासिक दाबी नगर्ने लेखकको भनाइ छ ।

इतिहास एवं संस्कृतिका अन्वेषक तथा पुस्तकमा भूमिका लेख्नुभएका रमेशकुमार ढुङ्गेलले शरणार्थी राष्ट्रविहीन हुनुपर्दाका अप्ठ्यारा पुस्तकमा समेटिएको बताउनुभयो । भोट सभ्यता र राष्ट्र तथा परिवर्तित चिनियाँ सभ्यता एवं राष्ट्रिय राजनीतिकाबीच उठेका अन्तद्र्वन्द्वले निकालेको तिब्बत विलय र शरणार्थीका समस्या उपन्यासको मूल विषयवस्तु बनेको छ । संस्कृति र सामाजिक अवस्था फरक भए पनि तिब्बती युवती र नेपाली युवकबीच प्रेम सम्बन्ध स्थापित भएको विषयलाई उपन्यासमा देखाइएको छ । अन्त्यमा प्रेमी प्रमिकाबीचको सम्बन्ध सफल हुन सकेको छैन । तिब्बती युवती र नेपाली युवकबीच सम्बन्ध वियोगान्तमा अन्त्य भएको छ । असफलता एवं वियोगान्तलाई शान्ति दिन बौद्ध दर्शनले भूमिका खेलेको छ ।

दुःख, पीडा, पीर र असफलतामा शान्तिका लागि बौद्ध दर्शनको सहारा लिइएको छ । यसबाट बौद्ध दर्शनभित्रको शान्तिलाई पनि उपन्यासमा देखाउन खोजिएको छ । साहित्यकारका तीन वटै उपन्यासमा बौद्ध दर्शनले व्यक्तिको आन्तरिक शान्तिमा सकारात्मक प्रभाव पारेको विषय छन् । नेपालमा तिब्बतीयन र भूटानी शरणार्थी विधिवत्रुपमा बसेका छन् । तिनका समस्या बाहिर ल्याउन उपन्यास सफल छ । लेखक पुरुष भए पनि महिला शरणार्थीका भावना एवं मनोविज्ञान उपन्यासमार्फत् अभिव्यक्त भएको छ । लेखक केशरीले जन्मभूमि तनहुँको शरणार्थी शिविरमा देखेका घटनाले आफूलाई यस विषयमा कलम चलाउने प्रेरणा मिलेको सुनाउनुभयो ।

“उपन्यासमा कति मेरा भोगाइ, कति नजिकका साथीभाइका भोगाइ जसलाई अनुमति लिएर वास्तविक नाममै उतारेको छु, कति विषय कल्पनाका पनि छन्”, उहाँले भन्नुभयो । नेपालमा शरणार्थी जीवन भोग्न बाध्य तिब्बतीयन युवती कारचुङका माध्यमबाट उहाँले त्यस जीवनका बारेमा पाठकलाई जानकारी दिन यो उपन्यास लेख्नुभएको हो । उपन्यासमा शरणार्थीका कथा व्यथालाई शब्दका माध्यमबाट उनिएको छ । खम्पा विद्रोहका सन्दर्भलाई पनि उपन्यासमा समेटिएको छ ।

प्रेम प्रसङ्ग र वियोगका घटना, असफल जीवनयात्रा र त्यस्ता परिवेशबाट प्राप्त हुने मानवता एवं जीवनका आवश्यक सच्चा ज्ञानका चाखलाग्दा धेरै विषय उपन्यासमा छन् । ढोल्कारकी दिदीको प्रेम र असफता, लोप्साङको प्रेमीको प्रसङ्ग, ग्याछो दोर्जे (डरलाग्दो अनुहार भएको शरणार्थी क्याम्पको क्रियाशील युवा) को कार्चुङप्रतिको एकतर्फी असफल प्रेम, शरणार्थी क्याम्पकी वृद्ध महिला अर्थात् डोल्मा र चिनियाँ कमाण्डर वाङ्-लीको तिब्बतमा युद्ध हुँदाका समयमा सैनिक क्याम्पभित्रै विकसित भएको प्रेम, विवाह र वियोग आदि यसका उदाहरण हुन् ।

शरणार्थी शिविरमै हुर्किएकी कृतिकी मूल नायिका कार्चुङ र छिमेकी गाउँको निडर नेपाली केटो (विश्वदीप) बीचको अनौठो प्रेमको सेरोफेरोमा उपन्यास घुमेको छ । सामाजिक, सांस्कृतिक कारणले अप्ठ्यारोमा परेर प्रेम सफल हुन सकेको छैन । उपन्यासकारले विभिन्न घटना र पात्रलाई नै बोलाएर अत्यन्त मिठो एवं स्पष्टरुपमा कथाका विषयवस्तुलाई पाठकसमक्ष पस्कनुभएको छ । यो शैली पाठकका निम्ति पठन सरलता र थप चाखको विषय बन्न पुगेको छ ।

दमनको विभत्स रुप, आक्रोश र नैराश्यता, स्वभूमिप्रतिको अधिकारको लडाईं, शरणार्थी क्याम्पको न देश, न विगत, न वर्तमान वा न परिचयपत्र (आरसी कार्डसमेत नभएको) विषय पनि उपन्यासमा सजीवरुपमा उतारिएका विषय हुन् । भविष्यकै टुङ्गो नभएको अन्योलको अवस्था, प्रहरीको ज्यादति र त्यसले सिर्जना गरेको आक्रोश र पीडा, विदेशीका सहयोगी हात तथा स्वार्थगत मिसन, नेपालीको शरणार्थीप्रतिको हेलचेक्र्याइँ तथा हेय भाव, शरणार्थीको मानसिक र मनोवैज्ञानिक दूरावस्था, चिनियाँ षड्यन्त्र तथा धोकाधडी प्रवृत्ति तथा क्रियाकलाप, अधिकारको लडाईं, उच्छृङ्खलता र गुण्डागर्दीमा लिप्त नेपाली युवाका अनुशासनहीन हर्कतजस्ता विषयले उपन्यासलाई जीवन्त बनाएको छ । उपन्यास पढ्न थालेपछि समय बितेको पत्तो पाइँदैन । कारणबस पठन स्थगित गर्नुपर्दा फेरि पुस्तक समातिहालौँ भन्ने हतारो मनमा आउँछ ।

सामाजिक यथार्थवादी उपन्यास दुङाल २७५ पृष्ठको छ । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य रु ४८४ छ । पुस्तकमा प्राविधिक कारणले सामान्य भाषिक त्रुटि भए पनि अन्य गल्ती भेटिँदैन । कसैको ध्यान नपुगेको संवेदनशील सामाजिक विषयमा कलम चलाएर पाठकलाई नौलो स्वाद दिन उपन्यासकार केशरी सफल हुनुभएको छ ।

लेखकका हालसम्म चार वटा कृति प्रकाशित छन् । पहिलो उपन्यास ‘पुरुत्थान’ २०७२ भदौमा प्रकाशित भएको थियो । विसं २०५२ देखि २०६३ का बीचको राजनीतिक घटनाक्रमका बेलाको अन्तरजातीय प्रेमकथामा आधारित भएर लेखिएको ‘पुरुत्थान’ पाठकले मन पराएपछि छ वर्षका बीचमा उहाँका तीन वटा उपन्यास प्रकाशित भएका हुन् ।

लेखकको दोस्रो उपन्यास ‘सुवणर्लता’ हो । ‘सुवणर्लता’ मा आमाबाबुबाट छुटिनुपर्दाका पीडा, विशेषगरी आमाबाबु लाहुर गएका छोराछोरीको अवस्थालाई उपन्यासकार श्रेष्ठले पाठकसमक्ष पस्कनुभएको छ । उपन्यासमा खोजी पत्रकारिताको प्रसङ्ग पनि छ । विद्यालय जीवनमा साथीभाइका प्रेमपत्र लेख्दै उहाँ साहित्य क्षेत्रमा प्रवेश गर्नुभएको हो । विद्यालय जीवनमा लेखिएको प्रेमपत्रले लेखनमा रुचि जाग्दै जान थालेपछि उहाँले विसं २०५८ मा कविता सङ्ग्रह ‘मिरमिरे’ निकाल्नुभयो ।

त्यसो त उहाँ कक्षा ५ मा पढ्दा विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामा आमा देवीकुमारी श्रेष्ठले लेख्नुभएको कविता वाचन गरेर पहिलो स्थान हासिल गर्न सफल हुनुभएको थियो । सानैदेखि कविता, कथाजस्ता विधामा रुचि राख्नुहुने उहाँलाई युवा अवस्थामा उपन्यास लेख्न सहकर्मीले प्रेरणापुञ्जका रुपमा काम गरेकाले सफल भएको उहाँको भनाइ छ ।