मोक्षभूमि उपन्यास र भक्तराज आचार्यलाई पद्मश्री पुरस्कार

मोक्षभूमि उपन्यास र भक्तराज आचार्यलाई पद्मश्री पुरस्कार



काठमाडौँ । वि.सं. २०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई र पद्मश्री साधना सम्मान भजन शिरोमणि भक्तराज आचार्यलाई प्रदान गरिने भएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले उक्त निर्णय गरेको हो ।

‘मोक्षभूमि’ उपन्यासमा लेखक दाहालले आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरूको मुक्तिको गाथा र गरिमालाई चित्रण गरेका छन् ।

यसैगरी गायक तथा संगीतकार आचार्यले १६ वर्षको छोटो अवधिमा दर्जनौं कालजयी सिर्जना दिएका छन् । क्यान्सर रोगका कारण जिब्रो काटिएपछि आचार्यको गायनयात्रामा पूर्णविराम लागेको छ ।

दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिदै आएकोमा यस वर्ष कोरोना संक्रमणको कारण अनुकूल समयमा अर्पण गरिने खेमकला-हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवैको राशी तीन–तीन लाख रुपैयाँ रहेको छ ।


प्रेस विज्ञप्ति हेर्नुहाेस्


खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा वि.सं. २०७७ सालको पद्मश्री साहित्य पुरस्कार लेखक तथा राजनीतिक—सामाजिक अभियन्ता केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई अर्पण गर्ने निर्णय गरिएको छ ।
‘मोक्षभूमि’ उपन्यासमा लेखकले आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरुको मुक्तिको गाथा र गरिमालाई चित्रण गरेका छन्, जहाँ युद्ध र अपराध, पाप र प्रायश्चित, प्रेम र यौन, सत्ता र सपना, स्वतन्त्रता र साधना, सङ्घर्ष र मोक्षको कथालाई मोक्षभूमि नामक काल्पनिक परिवेश दिएर चित्रण गरिएको छ ।
त्यस्तै पद्मश्री साधना सम्मान तीसको दशकदेखि सुगम गीतसङ्गीत तथा भजन गायनमा महत्वपूर्ण योगदान पुर्रयाएका गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई अर्पण गर्ने निर्णय गरिएको छ । वि.सं. २०४६ सालको एक साँझ काठमाडौंको बौद्धमा साङ्घातिक हमला भएपछि उनको गायनयात्रामा पूर्णविराम लाग्यो, जुन नेपाली गीतसङ्गीतका लागि ठूलो क्षति हो । १६ वर्षको छोटो सङ्गीत साधानाका माध्यमबाट पनि उनले लामो कालखण्डले सम्झिइरहने कालजयी सिर्जना दिएका छन् ।
पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवैको राशी रु. तीन—तीन लाख रहेको छ ।
वि.स. २०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । त्यस्तै वि.सं.२०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।
दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिँदै आएकोमा यस वर्ष विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा अर्पण गरिनेछ ।


जीवा लामिछाने
अध्यक्ष,
खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान
रत्ननगर, चितवन