जापानमा संसद बिघटन, ३१ अक्टोबरमा निर्वाचन

जापानमा संसद बिघटन, ३१ अक्टोबरमा निर्वाचन



टोकियो । जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ बिघटन गर्दै यस महिनाको अन्तमा निर्वाचन घोषणा गरेका छन् । उनी दुई साताअघि मात्र जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । आगामी ३१ अक्टोबरमा निर्वाचनको मिति तोकिएको छ ।

किशिदाले नेतृत्व गरेको सत्तारुढ लिबरल डेमोक्रयाटि पार्टीले निर्वाचनमा बहुमत ल्याउन सक्ने अनुमान गरिएको छ । हालै जापानमा कोभिड संक्रमणका घटनामा कमी आएको छ र त्यसको जस डेमोक्रयाटिक पार्टीले लिदै आएको छ ।

विश्वयुद्धपछि जापानको इतिहासमा संसदको कार्यकाल समाप्त भएर निर्वाचन घोषणा गरिएको यो पहिलो पटक हो । संसद विघटन र निर्वाचन मितिको समय अन्तर दुई साता मात्र छ ।

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका सभामुख टाडामोरी ओसिमाले संसदको वैठकपछि बिघटन गरिएको घोषणा गरेका थिए । सभामुखको घोषणपछि सांसदहरु कुर्चीबाट उठेर खुसीको ताली बजाएका थिए । आगामी मंगलबारदेखि औपचारिक रुपमा निर्वाचन प्रचार सुरु हुनेछ ।

यसअघि किशिदाले एलडीपीका सदस्यलाई समर्थन गर्न अनुरोध गरेका थिए ।

प्रमुख विपक्षी दल कन्स्टिच्युसनल डेमोक्रयाटिक पार्टी अफ जापानका नेता युकिओ इदानोले सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी कदम नचालेको आरोप लागाउँदै आएका छन् ।