कोभिडसँगै बाँच्न सिक्दै दक्षिण कोरियाः खुल्न थाले रेस्टुरेन्ट, क्याफे र जिम हल

कोभिडसँगै बाँच्न सिक्दै दक्षिण कोरियाः खुल्न थाले रेस्टुरेन्ट, क्याफे र जिम हल



सीउल । दक्षिण कोरियाले कोभिडको कारण दर्शाउदै रेस्टुरेन्ट, होटल क्याफेलगायत बढी जमघट हुने स्थानमा लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको छ । कोभिडसँगै जनजीवन सामान्य बनाउने नीतिअन्तर्गत सोमबारदेखि लागू हुने गरी ती क्षेत्र खुकुलो बनाइएको हो ।

खोप लगाएको प्रमाणका आधारमा बढी भिडभाड हुने स्थान जिम हल, साउना र बारहरुमा सर्वसाधरणलाई अनुमति दिइने भएको छ ।

सरकारले फेब्रुअरीको अन्त्यसम्ममा सबै प्रतिबन्ध हटाउने योजना गरेको छ । दक्षिण कोरियामा अहिले पनि कोभिड संक्रमण बढ्दो छ । तर, साबधानी र सुरक्षा मापदन्ड कार्यान्वयन भएको कडाइका कारण संक्रमणबाट मृत्यु हुने दर भने अन्य देशहरुको तुलनामा न्यून छ ।

करिव ५ करोड २० लाख जनसंख्या भएको दक्षिण कोरियामा अहिलेसम्म ७० प्रतिशतले पूर्ण खोप लगाएका छन् । त्यस्तै, ७९ प्रतिशतभन्दा बढीले कम्तिमा पहिलो डोज लगाएका छन् ।

दक्षिण कोरियामा जुलाईदेखि कोरोनाको चौथो कहर सुरु भएको थियो । पुनः संक्रमण फैलिएपछि भिडभाडमा रोक लगाउनुका साथै सामाजिक दूरीलगायत रोग नियन्त्रणका उपायलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिएको थियो ।

घरबाहिर हुने खेलकुदका कार्यक्रममा ५० प्रतिशतसम्म दर्शकलाई मैदानमा खेल हेर्न अनुमति दिइएको छ । त्यस्तै, सामाजिक दूरी कायम गर्दै कुनै पनि कन्सर्टमा १०० जनासम्म सहभागी हुन पाउनेछन् । नयाँ मापदण्डअनुसार खोप लागेका व्यक्तिले मात्र नाट्यशाला र चलचित्र हलभित्र पपकर्न र सोडा खान पाउनेछन् ।

संक्रमणका दृष्टिले बढी जोखिमयुक्त बार, नाइट क्लब, जीम हल र साउनामा जानुअघि खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । खोप नलगाएका व्यक्तिको हकमा पछिल्लो २४ घन्टामा कोभिड परीक्षण गरेको नेगेटिभ रिपोर्ट देखाउनु पर्नेछ ।