‘संकलित गद्यरचना’का लागि हरि अधिकारीलाई अन्तर्राष्ट्रिय अरनिको पुरस्कार

‘संकलित गद्यरचना’का लागि हरि अधिकारीलाई अन्तर्राष्ट्रिय अरनिको पुरस्कार



ललितपुर । कवि एवम् वरिष्ठ पत्रकार हरि अधिकारीको ‘संकलित गद्यरचना’ कृतिले २०७७ को अरनिको अन्तर्राष्ट्रिय साहित्य पुरस्कार पाएको छ । गैरआवासीय नेपाली संघको भाषा–साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिले राष्ट्रिय विभूति अरनिको नाममा स्थापना गरेको २ लाख रुपैयाँ राशिको पुरस्कार पहिलो पटक अधिकारीको कृतिलाई प्रदान गरिएको हो ।

शताब्दी पुरुष सत्यमोहन जोशीको निवास ललितपुरको, बखुम्बहालस्थित लोकसाहित्य भवनमा भएको समारोहमा एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछानेले ‘अभिलेखबद्ध पहिलो एनआरएन सदस्यका रूपमा विभूति अरनिकोलाई मान्न सकिने भनेर संस्कृतिविद् जोशीले दिएको सुझावअनुसार’ यो पुरस्कारको नामकरण गरिएको बताए ।

रुसबाट १८ वर्षअघि सुरु भएको एनआरएनए आज विश्वका ८५ देशमा विस्तारित भइसकेको भन्दै लामिछानेले गैरआवासीय हैसियतमा बाहिरी विश्वमा बसेर नेपाली भाषा–साहित्यमा सिर्जनागत योगदान दिनेलाई हरेक वर्ष अरनिको साहित्य पुरस्कार प्रदान गरिने जानकारी दिए । पुरस्कृत व्यक्तित्वबारे टिप्पणी गर्दै उनले आफूलाई सही लागेका कुरा निर्भीक भएर लेख्ने अर्थमा हरि अधिकारी एउटा ‘ब्रान्ड’ भएको बताए । समारोहमा संस्कृतिविद् जोशीले लेखक अधिकारीलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

 गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिले यसै बर्षदेखि स्थापना  गरेको यो पुरस्कार प्रथम एनआरएन अरनिकोको सम्मानमा स्थापना गरिएको हो । विदेशमा बसेर सिर्जना गर्ने नेपाली स्रष्टाहरूका लागि पुरस्कार स्थापना गरिएको जनाउँदै सङ्घका पूर्व अध्यक्ष लामिछानेले पुरस्कार रकममा बृद्धि गर्दै लैजाने बताए । 

साहित्यकार नयनराज पाण्डेयले पुरस्कृत व्यक्तिव अधिकारीको बारेमा प्रकाश पार्दै भने, ‘हरि दाइका कविता जति चोटिला छन्, निबन्ध उत्तिकै खरो ।’ उनले भने, ‘आगामी दिनमा पनि एनआरएनएले साँच्चिकै कृतिलाई पुरस्कृत गरोस् ।’

ध्रुवचन्द्र गौतम संयोजकत्वमा रहेको पुरस्कारको निर्णायकमा ज्ञानू पाण्डे, हरिराज भट्टराई र नयनराज पाण्डे सदस्य थिए । तेह्रौं शताब्दीमा चीनमा गएर नेपाली वास्तुकलाको ख्याति फैलाउने पाटन, ललितपुरका कलाकार अरनिकोका नाममा अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना गरिएकोमा संस्कृतिविद् जोशीले प्रसन्नता व्यक्त गरेका थिए ।