दोस्रो पुस्तालाई विस्थापित गर्ने चुनौतीका साथ महामन्त्री बनेका यी दुई युवा

दोस्रो पुस्तालाई विस्थापित गर्ने चुनौतीका साथ महामन्त्री बनेका यी दुई युवा



  • डा. सुरेश आचार्य

नेपाली काग्रेसको चौधौं महाधिवेशनमा महामन्त्रीमा दुई युवा गगन थापा र बिश्वप्रकाश शर्माको विजयले काँग्रेसको भावी स्वरुपलाई परिवर्तन गर्ने संकेत दिएको छ । महामन्त्रीका दुबै विजेताले पार्टीमा युवापुस्तालाई नेतृत्वमा स्थापित गर्ने चाहनालाई प्रमाणित त गरेकै छन्, खासगरी बिश्वप्रकाशको विजयले काँँग्रेसमा लामो समयदेखि चल्दै आएको गुटगत राजनीतिलाई चुनौती दिएको छ ।

यी दुबै काँँग्रेस नेतृत्वको तेस्रो पुस्ता हुन् र उनीहरुको यो विजयले दोस्रो पुस्ताको भावी राजनीतिलाई समेत चुनौती दिएको छ । पहिलो पुस्ताका कति नेताहरु सदस्य भएर आउलान्, यो अहिले अनुमान मात्रको विषय छ तर पदाधिकारीहरुमा सभापति शेरबहादुर देउवाले पहिलो पुस्ताको प्रतिनिधित्व गर्दै गर्दा दोस्रो पुस्तालाई उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधित्व गरेका छन् । संभवतः सहमहामन्त्रीमा एकाध व्यक्तिले पूर्णबहादुरको स्थान लेलान्, अन्यथा ४० देखि ६० वर्षको पुस्ता अब काँग्रेस पदाधिकारी बन्ने प्रष्ट देखिएको छ ।

७६ वर्षीय सभापति देउवाले दोस्रोपटक नेतृत्व गर्न लागेको कार्यसमितिमा अहिलेसम्मका विजेता पदाधिकारीको उमेरको अन्तर उनीभन्दा १० देखि ३० वर्षसम्मको छ । उपसभापतिका विेजता पूर्णबहादुर ६६ वर्षका भए भने धनराज गुरुङ ५५ वर्षका । महामन्त्रीका विजेता बिश्वप्रकाश ५० र गगन ४६ वर्षका छन् ।

दोस्रो चरणमा सभापतिमा देउवालाई समर्थन गरेर प्रकाशमान सिंहले आफूलाई देउवाको उत्तराधिकारीमा उभ्याउन चाहेको अनुमान थियो । अझ देउवालाई कित्ताकाट गरेर दोस्रो चरणमा सबै प्रतिद्वन्द्वी एक ठाउँ उभिने घोषणा गरेका विमलेन्द्र निधि र मौन रहेर आफ्ना २२ मत संकलन गर्ने कल्याण गुरुङ समेतले देउवालाई समर्थन गरेपछि काँँग्रेस पुरानै दुई ध्रुवमा फर्केको अनुभव गरिएको थियो । किनकी २०५९ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले देउवालाई पार्टीबाट निष्काशन गरेपछि बनेको काँग्रेस प्रजातान्त्रिकमा प्रकाशमान उपसभापति, विमलेन्द्र महामन्त्री र त्यही पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष कल्याण गुरुङ बनेका थिए ।

एघारौं महाधिवेशन अलग गरेर एकै ठाउँमा उभिएका यी सबै नेतालाई चौधौं महाधिवेशनको दोस्रो चरणको निर्वाचनमा एक ठाउँमा उभ्याई दिएको छ । देउवासँग असहमति मात्र होइन, आक्रोश समेत व्यक्त गर्दै आएका सिंह र निधिमध्ये सिंहले लगाएको गुन देउवाका लागि महत्व राख्छ । त्यसकारण पनि सिंहले देउवालाई समर्थन गर्दै गर्दा त्यो सपना देखेका हुन सक्छन् । कुनै सपना विना नै समर्थन गरेका भए पनि विमलेन्द्र समेतको समर्थनले काँग्रेस फेरि पुरानै गुटमा फर्केको आभाष दिलाएको थियो ।

तर यो अनुमानलाई महामन्त्रीको पछिल्लो निर्वाचन परिणामले धेरै समय टिक्न दिएन । महामन्त्रीको निर्वाचन परिणाम सार्वजनिक हुदै गर्दा मुलुककै यी दुई उदीयमान युवालाई पार्टी र सरकारको भावी नेताका रुपमा धेरैले लिन शुरु गरिसके । महामन्त्रीका रुपमा उनीहरुले गर्ने कामका बारेमा कोही शंका समेत गर्न चाहदैन । यसको स्वाभाविक अर्थ हो अब यी दुई भाइ कुनै बेलाका सिनियर वा जुनियर नभएर एक रथका दुई पांग्रो बनेका छन् र भोलिको काँग्रेस यिनैले हाँक्ने हुन् भन्ने बिश्वास धेरैको मनमा पलाइसकेको छ ।

यसको स्वाभाविक अर्थ भनेको अब अहिले ५० वर्षभन्दा माथिको उमेर समूह पन्ध्रौं महाधिवेशनमा पुग्दा काँँग्रेसको राजनीतिबाट पलायन हुने छ । यो सन्देश पुरानो पुस्तामा रामचन्द्र पौडेल बाहेक अरु कसैका लागि सुखद होइन । अहिले दुई मतले हारेका विजय गच्छेदारले भने आफ्नो पराजयबाट सन्तुष्ट रहने ठाउँ नभए पनि समग्र परिणाम हेर्दै गर्दा दुःख मान्नु पर्ने अवस्था छैन । यद्यपि, काँग्रेस राजनीतिमा तलैदेखि उठ्दै आएका पूर्णबहादुर भावी नेतृत्वका स्वाभाविक आकांक्षी हुन सक्छन् । केन्द्रीय सदस्यबाट सहमहामन्त्री, महामन्त्री हुदै उपसभापति बनेका पूर्णबहादुरलाई सभापति बन्न अहिलेको निर्वाचन परिणामले साथ दिएन भने त्यो अस्वाभाविकचाहिं हुने छैन ।

यो परिणामले केन्द्रीय सदस्यको उम्मेदवार रहेर काँग्रेसको नेतृत्वका आकांक्षा राख्ने थुप्रै नेताहरुलाई चुनौती दिएको छ । बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, एनपी साउद, चुनाव हारेका चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, प्रकाशशरण महतसम्मको पुस्तालाई उछिनेर महामन्त्री बनेका यी दुई युवाले भोलिका दिनमा यी सबैलाई पछाडि छाडेर अघि बढ्ने संकेत देखाएका छन् ।

काँग्रेस साँच्चै नयाँ पुस्तामा हस्तान्त्रण हुदै गरेको चौधौं महाधिवेशनको यो दृश्य आफैंमा रोमाञ्चकारी छ । अबको काँग्रेस युवाको काँग्रेस हुदै गर्दा मुलुकको युवा पुस्ता, जो अबको दुनियाँमा कम्युनिष्ट बन्नै सक्दैन, काँग्रेसतर्फ आकर्षित हुने सम्भावना बढेको छ । काँग्रेसका लागि मात्रै होइन, मुलुककै लागि आशा र भरोशा बढाएका छन् ।