एमसीसीमाथि आज सामान्य छलफल मात्रै, निर्णयार्थ पेस नहुने

एमसीसीमाथि आज सामान्य छलफल मात्रै, निर्णयार्थ पेस नहुने



काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आजको प्रतिनिधिसभा बैठकमा सामान्य छलफल मात्रै हुने भएको छ । संसद् बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी कसरी अघि बढाउने भन्ने छलफल हुँदा सांसदहरूबीच सामान्य छलफल मात्र हुने सहमति भएको हो ।

नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले आजको संसद् बैठकमा एमसीसीमाथि सामान्य छलफल मात्रै हुने जानकारी दिए । ‘आजको बैठकमा सामान्य छलफल मात्र हुन्छ, निर्णयार्थ पेस हुँदैन । दैनिक छलफल मात्र हुन्छ,’ नेता रिजालले भने ।

एमसीसी निर्णयार्थ पेस गर्दा कसरी गर्ने भन्नेमा अहिले विवाद देखिएको छ । कांग्रेसले ध्वनि मतका आधारमा टुंगो लगाउनुपर्ने र सभामुख अग्निप्रसाद सापकोटासहित माओवादी केन्द्र मत विभाजनको प्रक्रियामा जानुपर्ने अडानमा छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आजै संसदबाट अनुमोदन हुने सम्भावना नरहेको बताएकी छन् । ‘आजको बैठकमा सांसदहरूले धारणा राख्नुहुनेछ । धारणा राख्ने क्रम नै सकिँदैन होला, तथर्स आजको बैठकबाटै एमसीसी अनुमोदन हुने सम्भावना न्यून छ,’ उनले भनिन् ।