माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । शुक्रबारदेखि शुरु बैठकको निरन्तरतास्वरूप बैठक आज पुनः बस्न लागेको हो । राष्ट्रिय सभागृहमा शुक्रबारको बैठकमा प्रनिनिधिसभाबाट एमसीसी सम्झौता पारित गर्ने पार्टीको निर्णय अनुमोदनका लागि पेश भएको थियो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन जोगाउँदै निर्वाचनमा जाने र माओवादी केन्द्र दोस्रो पार्टी बन्ने रिपोर्टिङ आफूले पाएको जानकारी गराएका थिए ।

आजको बैठकमा स्थायी समिति, पोलिट्व्यूरो र केन्द्रीय समितिलाई पूर्णता दिने विषयमा छलफल हुनेछ । माओवादीको पुष १८ गते सम्पन्न आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो ।

लगत्तै १९ गतेको केन्द्रीय समितिले प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो । पार्टीको २९९ केन्द्रीय सदस्यमा २४७ मात्र चयन भएका छन् । पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।