स्थानीय तहको चुनाव सार्ने कुरा चलिरहेको छः अध्यक्ष नेपाल

स्थानीय तहको चुनाव सार्ने कुरा चलिरहेको छः अध्यक्ष नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव सार्ने कुरा चलिरहेको बताएका छन् ।

प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा आइतबार संवाददाताहरुसित कुरा गर्दै अध्यक्ष नेपालले स्थानीय तहको चुनावको मिति परिवर्तनबारे सत्ता गठबन्धनमा छलफल भइरहेको बताएका हुन् । स्थानीय तहको चुनाव सार्ने कुरा भइरहेको हो भन्ने प्रश्नमा उनले भने, ‘त्यो कुरा चलिरहेको छ ।’

अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन गरी चुनावमा जानेलगायतका विषयमा प्याकेजमै छलफल भइरहेकोसमेत जानकारी दिए । ‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न पनि नदिने, हाउसलाई पंगु बनाउने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने,’ उनको भनाइ छ, ‘केपी ओलीको बितण्डाको सामना गर्न संसदलाई भंग गरिदिने । न संसद रहन्छ, हंगामा गर्ने ठाउँ रहन्छ । अनि चुनावमा जाने ।’

स्थानीय तहको चुनाव अगाडि कि पछाडि विघटन गर्ने भनि संवाददाताले राखेको प्रश्नमा अध्यक्ष नेपालले जवाफ दिएनन । नेपालसहित १४ सांसदमाथि गरेको कारबाही सदर नगरेको भन्दै प्रमुख विपक्षी एमालेले निरन्तर सदन अबरोध गर्दै आएको छ ।