निर्माण व्यवसायी महासंघमा नेतृत्वका लागि रोचक भिडन्त

निर्माण व्यवसायी महासंघमा नेतृत्वका लागि रोचक भिडन्त



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २३औं वार्षिक साधारणसभा एवम् नयाँ नेतृत्व चयनले व्यवसायीहरु बीच माहोल तातेको छ । वर्तमान अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, एवम् हुमनाथ कोइरालावीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यता, पूर्वअध्यक्ष रमेश शर्मासमेतले अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चाले नेपाल निर्माण व्यवसायीहरु बीच नेतृत्व छनोट निकै रोचक एव सनसनीपूर्ण हुने बताइएको छ ।

खस्कँदै गएको निर्माण व्यवसाय उद्योग, ढलमलपूर्ण अर्थतन्त्रबीच हुन गइरहेको निर्वाचनबाट सक्षम र सबल नेतृत्वको खोजीमा महासंघ रहेको छ । पूर्वअध्यक्ष रमेश शर्मा पनि नेतृत्वका लागि प्रतिस्पर्धा आउने हल्लालाई व्यवसायीहरुले अर्थपूर्ण रुपमा लिएका छन् ।

महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको पदमा आङदोर्जे (ए.डी.) लामा, धीरेन्द्र दाहाल, लक्ष्मण रानाबीच प्रतिस्पर्धा हने देखिएको छ भने एसोसियट उपाध्यक्षमा रामजी पन्त (मुकेश), भाइराजा श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

यसैगरी महासंघको महासचिव पदमा रोशन दाहाल एवम् बासुदेव उप्रेतीबीच भिडन्त हुने चर्चा चलेको छ । अन्य व्यवसायीहरु समेत विभिन्न पदमा दाबीसहित भाग लिनका लागि जिल्ला–जिल्लाबाट आउने क्रम जारी छ । फागुन २५ गतेबाट आ–आफना दावीसहितको उम्मेदवारी घोषणा एवम् प्रचार प्रसार हुने क्रम सुरु हुनेछ भने फागुन २९ गते १२ सय निर्माण व्यवसायीहरुले आफ्ना नेता चुन्ने छन् ।

देशभरिबाट युवा निर्माण व्यवसायीहरुको उत्साहपूर्ण उपस्थितिले नेपाल निर्माण व्यवसायी महासंघ युवा नेतृत्वले भरिने निश्चितजस्तै छ ।