प्रेस चाैतारीकाे अध्यक्षमा बस्नेत

प्रेस चाैतारीकाे अध्यक्षमा बस्नेत



पोखरा । नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालकाे अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै रोजाईमा बस्नेत फेरि अध्यक्ष बनेका हुन् ।

ओलीले उद्घाटन समारोहमै बस्नेतलाई दोहोर्‍याउने संकेत गरेका थिए । ‘अहिलेको कमिटीले राम्रोसँग काम गर्न पाएको छैन । त्यसका धेरै कारण छन्,’ ओलीले भनेका थिए, ‘यहाँबाट साथीहरुले एकताको सन्देश दिनुहुनेछ । मिलेर कमिटी बनाउनुहोला ।’ उनले बस्नेत रुचाएपछि चौतारीका इन्चार्ज तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नै जिल्लाका पाण्डेलाई सहमत गराए । धेरैले गुरुङको समर्थन पाण्डेलाई हुने र पोखरा महाधिवेसनबाट पाण्डे नै अध्यक्ष हुने आँकलन गरेका थिए ।

प्रतिनिधिसमेत निर्वाचनबाटै भए पनि नेतृत्व फेर्ने पक्षमा थिए । तर, मतदाताको मनोभावना विपरित टिका लगाएर नेतृत्व टुंग्याइएको छ । उनीसहित पदाधिकारीको टुंगो लागेको निर्वाचन कमिटीले जनाएको छ ।

उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती चयन भएका छन् । राति अबेर गरी पदाधिकारीको टुंगो लागेको हो । निर्वाचन कार्यतालिका अनुसार उम्मेद्‍वारी दर्तासहित राति ११ बजे उम्मेद्‍वारको अन्तिम नामावली प्रकाशन हुनुपर्ने हो । तर उम्मेद्‍वारी दर्ता नै नभई पदाधिकारी टुंगो लगाइएको असन्तुष्टहरुले बताए ।

संगठनका नेता समेत रहेका माधव प्रसाद तिवारीले मनोनयन दिन नपाएको भन्दै संगठनबाट निस्कृय रहने घोषणा गरेका छन् । उनले फेसबुकमा स्टाटस लेखेर अध्यक्ष मण्डलमा पनि सहमति नभई अध्यक्षले आफ्नो टीम घोषणा गरेको भन्दै आपत्ति जनाए ।

घोषित कमिटीको महासचिव हिरामान लामा बनेका छन् । उपमहासचिव राजु सुवेदी र शुरोजजंग पाण्डे छानिए । नयाँ विधानले सचिव प्रदेशबाट छानिने व्यवस्था छ । प्रदेश १ को सचिवमा विक्रम लुईंटेल, मधेश प्रदेशमा कमल उपाध्याय, बागमतीबाट विष्णु तारुके, गण्डकीबाट सुष्मा पौडेल, लुम्बिनीबाट प्रदीप आचार्य, कर्णालीबाट विष्णु शर्मा र सुदुरपश्चिम प्रदेशबाट लोकसरी कुँवर सचिव बने ।

प्रतिष्ठान सचिवमा हरिबल्लभ नेपाल तथा कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् । अध्यक्षमा चार जनाको दावी थियो । माधव नेपाल, गणेश पाण्डे र टिका विष्ट सहित बस्नेतले दावी गरेका थिए । पाण्डे उपाध्यक्षमा बस्न राजी भए भने नेपाल र विष्ट अध्यक्षकै दौडबाट बाहिरिएका छन् ।