सेटिङमा मोलुङ गाउँपालिकाको रकम झ्वाम पार्नेहरु को–को ?

सेटिङमा मोलुङ गाउँपालिकाको रकम झ्वाम पार्नेहरु को–को ?


ग्लोब नेपाल
621
Shares

ओखलढुंगा । कागजमा योजना सम्पन्न गरेर उपभोक्ता समितिको नाममो मोलुङ गाउँपालिकाको ४ लाख रुपैयाँ एउटा समूहले झ्वाम पारेको तथ्य बाहिर आएको छ । गाउँपालिकाले वडा नं. २ मा टकानापुर मिसन अस्पताल जाने बाटो खन्नका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बाटो स्थानीयले श्रमदान गरेर निर्माण गरे, तर कागज बनाएर उपभोक्ता समितिले सेटिङमा ४ लाख रुपैयाँ निकालेर अर्को एउटा समूहले पचाउने प्रयास गरेको थियो । त्यसो त बाटो खन्नकै लागि उपभोक्ता समिति गठन गरिएको थियो, उनीहरुले नै श्रमदान गरेर निमाण गरेका थिए । जुन उपभोक्ता समितिले बाटो निर्माण गरेको थियो, उनीहरु थाहा नै नदिइ अर्को नक्कली उपभोक्ता समितिले कर्मचारीसँग सेटिङ मिलाएर रकम निकासा गराएका थिए ।

लामो समय बितिसक्दा पनि पालिकाले रकम निकासा नगरेपछि उपभोक्ता समितिका केही व्यक्तिहरु वडा कार्यालयमा पुगेका थिए । तर उनीहरुले बाटो खन्नका लागि विनियोजित रकम निकासा भइसकेको पाए । स्थानीय दीपेन्द्र राईको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको कागज बनाएर योजना सम्पन्न गरी बजेट निकासा गरिएको पाइयो ।

ओखलढुंगा–रामपुर सडक कालोपत्र आयोजनाअन्तर्गत ठेकेदार कम्पनीले खनेको बाटो नापेर योजना सम्पन्न भएको नक्कली कागज बनाइएको रहेछ । योजना अनुगमन फारममा काफलबोट होल्फु मिसन अस्पताल बाटो अनुगमन गरिएको भनेर पालिकाका इन्जिनियर माधव निरौला र सहायक प्राविधिक शिवप्रसाद अधिकारीले हस्ताक्षर गराई वडा अध्यक्ष टंकबहादुर कार्कीले समेत काम सम्पन्न भएको भन्दै सिफारिस दिए ।

कामै नगरी पैसा खाएको थाहा पाएपछि टेकानपुरका गाउँलेले पालिकामा आन्दोलन गरे । त्यसपछि उक्त विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्‍यो । जिल्ला समन्वय समितिले समेत योजना अनुगमन गर्दा काम गरेको देखिएन । त्यसपछि गाउँपालिकाको जनप्रतिनिधि, कर्मचारी सबैलाई नैतिक दबाब सिर्जना भयो । उनीहरूले उक्त रकम फिर्ता लिएर टेकानपुरमै पुनः दिने आश्वासन दिए । कार्यपालिकाको बैठकले पैसा फिर्ता लिने निर्णय गर्‍यो ।

योजना फरफराकमा उपप्रमुख हेमकुमारी तामाङ र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठले हस्ताक्षर गरेका छन् । उपप्रमुख हेमकुमारी तामाङले आफूले योजना अनुगमन नगरी हस्ताक्षर नगर्ने अडान लिँदा वडा सदस्य ओम राईले ‘विश्वास गर्नुस् दिदी, हामीले सबै काम सकेर मात्र फरफाराकका लागि कागज बनाएको हौं, भनेपछि हस्ताक्षर गरिदिएको बताइन् । कागजात हेर्दा इन्जिनियरले योजना अनुगमन गरेको, वडाध्यक्षले सिफारिस गरेको देखेपछि ठिकै छ त भनेर हस्ताक्षर गरिदिएँ,’ उपप्रमुख तामाङले भनिन्, ‘उनीहरूले थाहै नदिई मलाई फसाउने काम गरेछन् ।’