यादगार यात्रा

यादगार यात्रा



शुन्य शुन्यहरूमा हराएर
गुन्य यथार्थमा आफूलाई भेट्टाएर
सम्झनाहरूले मलाई हिडाएको हो
जीवनमा बाँच्ने त सम्झना हुन्छ भनेर
मृत्यूको आँगनबाट झस्किएर
त्रासहरूबाट ब्यूतिएर
जीउदो अस्तित्वलाई हाँकेर
म यहाँ आइपुगेको हुँ
उभिएर तिमीलाई हेरूँ
आफूलाई सम्पूर्णतामा देखुँ

हिड्न अगाडि मधुर धून गुन्जिरहयो
आफै भित्र प्रश्नको जंजाल लय बनेर
उक्लेर मनका काल्नाहरूबाट
उज्याला उत्तरहरू दिएँ
कुल्चेर प्रश्नहरूलाई छरपष्ट पारिदिएँ
बटुलिन सम्हालिन समय लागोस्
केहि प्रश्नहरू नादान थिए क्षमा दिएँ
जिन्दगी तिमीलाई यहाँसम्म भेट्न आउँन
साँच्चै मैले आफैसँग बिद्रोह गरेको हुँ

तिमीले पनि भाइरसको साइफन छिचोलेर
मृत्युको गुणनलाई आत्मबलले माइनस गर्दै
चुनौतीहरुलाई हरियो रंग भरेर
चोटका निलडामहरूसँग
पीडा कै अखण्ड धुनी ताप्दै मुस्कुराउँन
तिमी आँगनमा सिमाना कोरेर
उभिएको सुनेपछि
जीवनलाई स्नेहले सुमसुम्याएँ
अविनाशितालाई भेट्ने आकांक्षामा
यहाँ आइपुगेको छु
प्रेमले हात हल्लाउँन
आँखाको भाषा बोल्न
तिम्रो मुटुमा बस्न
घाम डुब्नु अगाडि
सम्झनाको डोबहरू छाड्न

जीवनको कौसीमा घाम उदाएर
अस्ताउँन अगाडि
न्यानो सम्झनाहरू आउँछ–जान्छ
जिन्दगी त ओहोर– दोहोर कहाँ हुन्छ र !
फेरि भेट्ने संयोग
हुनसक्छ – नहुनसक्छ
आजभोली जीवन
डाँडाको घाम जस्तो छ
हिड्दा हिड्दै कहाँनिर रात पर्छ
सम्झनाको ल्याम पोस्टबाट
अनयास एउटा पर्दा खÞस्न सक्छ

शुन्यबाट शुन्यतातिर उन्मुख
प्रिय जीवन
डुब्नु अघि तिमीसँग भेटनु छ
भेटिएको त्यो क्षण
तिम्रो र मेरो सम्झनाको दस्तावेज बनोस्
हुन् सक्छ सम्झनाको श्रृंखलामा
पहिलो र अन्तिम
लेखिने इतिहासमा
जीवनको वारी र पारी संजीवनी आभास
मलाई तिम्रो मुटुको अन्तस्करणमा
सम्झनाको शालीक भएर बाँच्नु छ !