डिप्रेशन

डिप्रेशन



कोही किन चिन्तित हुन्छन् यसरी ?
करियरको कुराले वा पैसाको अभावले?
विफलताका कारण वा साथीभाइको घातले

प्रेममा असफल भएर
वा देशको नक्शामा
वाद, विचार र विधाताको अतिक्रमणले?!

मानवीय जीवनमा
चिन्ता
चेतनाको उपज हो
या जीवन व्यवस्थापनको अभावमा मानसिक विकार हो ?

म किन चिन्तित हुँदै गइरहेको छु अचेल ?

एक्लो योद्धा मलाई
चिन्ताले कहाँ पुर्‍याउँदै छ ?
शरीरलाई जीर्ण तुल्याएर
रोगी बनाएर मलाई
सामाजिक जीवनबाट अलग बनाएर
किन धकल्दै छ चितातिर ?

चिन्ताको गहिरो सागरमा छु ।
घाउ दुखेको भए मल्हमले ठिक हुन्थ्यो पनि होला
मन दुखेको छ
उपचार आविष्कार भएको छैन भन्छन् ।

मेरो परिवेशबाट झरनाझैँ झरिरहेको म
जीवनका हरेक आयाम मेरो विपक्षमा देखिरहेको छु
मेरा विचार र बोधलाई नकारात्मक दृष्टिले तौलेर
निषेधको तराजुमा प्रतिशोधले जोख्दै
मेरै स्वाधीन आदिभूमिबाट मलाई किनारामा धकेल्दा
सोच्न थालेको छु आफ्नै जिन्दगी बेकार

चिन्ता र तनावले
मेरो शरीरमा आप्रवासी हर्मोन्स,
एड्रिनलीन र कार्टिसोलले अतिक्रमण गर्न थालेको छ

मेरो मनोविज्ञानमा
माफिया र निगम संस्कृतिले प्रहार गरिरहेको छ
दलालको विरोध गर्ने अर्को दलालको
भ्रामक प्रचारको शिकारले निरन्तर चिन्ता लिँदा
मेरो सार्वभौम पहिचानको स्वास्थ्य
र, स्वभावमा मौसमझैँ बदली भइरहन्छ

मनस्थिति
बादलको आकारजस्तै परिवर्तन भइरहन्छ
पागलजस्तै हुन्छु
आफ्नाको प्रेमबाट वञ्चित एक्लै बस्न मनपराउँछु

सबैसित पानी बाराबार गरी
मौन बस्छु – मौनताजस्तै

भेदभावको पीडाले होला – मुटु चसक्क चसक्क दुख्छ
निषेधको रिसले होला – रक्तचापले उकालो चढ्छ

समताको भोकले होला – मुठ्ठी आफैँ कसिन थाल्छ
समान समृद्धिको उत्कण्ठाले होला
आर्थिक, सामाजिक र राजनीतिक दलनविरुद्ध

पाइला स्वचालित यन्त्रझैँ चल्न थाल्छ रूपान्तरणतिर

मेरा सारा निजी शोकलाई शक्तिमा बदलेर
मविरुद्ध षड्यन्त्र गरिरहने
समान भूगोलविरोधी विचारका दासहरूविरुद्ध
ठूल्ठूलो स्वरले नारा लगाउँछु
क्रान्तिका गीत लेख्छु र, परिवर्तनका गीत गाउँछु

समृद्धिको बाटो छेकेर
मलाई अघिल्लो पंक्तिमा उभिन नदिने
विकासको राजमार्गमा एम्बुस थापेर
मलाई कुनै पद र प्रतिष्ठामा पुग्न नदिने
आर्थिक क्रान्तिको जगमा युद्ध रोपेर
डिप्रेशनमा फसाएर मलाई
मेरो सर्वभौमसत्ता भत्काएर विदेशी ऋणको भार थपिरहने
विषमज्वर
पुरानो सत्ताको जरामा नयाँ क्रान्तिको एसिड खन्याएर
डिप्रेसनमा फसिरहेको मेरो देश र म
एन्डाफिर्न हर्मोन्स वृद्धि गर्दै मुस्कान थेरापी गरिरहेछौँ ।

भक्तपुर