प्रचण्डकी बुहारी पोखरा उपप्रमुखको उम्मेदवारमा सिफारिस

प्रचण्डकी बुहारी पोखरा उपप्रमुखको उम्मेदवारमा सिफारिस


ग्लोब नेपाल
324
Shares

पोखरा । नेकपा (माओवादी) केन्द्रको पोखरा महानगर कमिटीले अध्यक्ष पुष्पकमल दाहालकी बुहारी सिर्जना त्रिपाठीलाई उपप्रमुखको उम्मेदवारमा सिफारिस गरेको छ । महानगर कमिटीको सोमबार सम्पन्न पूर्ण बैठकले पोखराको प्रमुख र उपप्रमुखमा ३–३ जनाको नाम सिफारिस गर्दा त्रिपाठीसमेत परेकी हुन् ।

माओवादीको जन वर्गीय सङ्गठन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय सदस्य उनी पोखरामा बसेर पार्टी राजनीतिमा सक्रिय छिन् । पोखरा–२५ हेमजा माइती भएकी उनी प्रकाश दाहालको निधन भएयता कास्कीको राजनीतिमा सक्रिय भएकी हुन् ।

पोखराको प्रमुखका लागि बखानसिंह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको छ । महानगर प्रमुखमा प्रस्तावित गुरुङ पार्टीको कास्की संयोजक हुन् । लामिछाने प्रदेश कमिटीका सदस्य तथा महानगरका निवर्तमान अध्यक्ष हुन् । ०७४ को चुनावमा माओवादी केन्द्रले पोखराको प्रमुखमा लामिछानेलाई अघि सारे पनि अन्तिममा भरतपुरमा रेणु दाहाललाई छाड्दा उनी पछि हटेका थिए ।

उपप्रमुखका लागि त्रिपाठीसहित गोमा ढकाल र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको महानगर कमिटीका उपाध्यक्ष भानुभक्त अधिकारीले बताए । उपप्रमुखकी उम्मेदवार ढकाल अघिल्लो निर्वाचनमा पनि माओवादीबाट उम्मेदवार थिइन् ।