पाँच दलीय गठबन्धनले ६ वटा महानगर र ११ उपमहानगरमा केन्द्रबाटै भागबण्डा मिलाएर तालमेलको टुङगो लगाएपछि सबै दलमा असन्तुष्टि चुलिएको छ । अन्य २ सय ७६ नगरपालिका तथा ४ सय ६० गाउँपालिकाको हकमा पनि पाँच दलबीच आवश्यकता र औचित्यका आधारमा सबै पदमा सिट बाँडफाँड भएपछि टिकटको आश गरेर बसेका नेतामात्र होइन लामो समय पार्टीका लागि खटेका कार्यकर्ताहरुमा समेत निरासा छाएको देखिन्छ । पार्टीकै लागि अहोरात्र खटेर जीवनभर दुःख झेलेका कार्यकर्ताले अर्को दलको चुनाव चिन्हमा भोट हाल्नु आफैमा सहज अवस्था पक्कै छैन । अझ मेयर, उपमेयर लगायत पदका आकांक्षी नेताहरुका लागि पाँच बर्षमा बल्लतल्ल प्राप्त अवसर अर्कै पार्टीको नेतालाई सुम्पनु पर्दा रिसको पारो तात्नु स्वाभाविकै हो ।
शेरबहादुर देउवालाई कांग्रेस पार्टीकै अन्तिम प्रधानमन्त्री भन्ने बचन लगाएका केपी ओलीलाई शब्दले होइन व्यवहारबाटै कांग्रेसलाई नेपालको राजनीतिको मियो भूमिकामा स्थापित गर्ने तथा पार्टीलाई सबैभन्दा ठूलो दल बनाउने र कांग्रेसको भावि पीढिका एक से एक नेताहरु नेपालको प्रधानमन्त्री बन्ने आधार तय गरिदिने गोरेटो देउवाले कोर्न खोजेको देखिन्छ ।
तर पाँचवटै दलले व्यापक छलफलपछि आ–आफ्नो पार्टीमा गठबन्धनलाई निरन्तरता दिएर चुनावी तालमेल गर्ने निर्णय गरेकै आधारमा ७ सय ५३ स्थानीय तहमा एउटा निश्चित मापदण्डका आधारमा चुनावी सहकार्य भएका हुन् । गठबन्धन र तालमेल भन्ने वित्तिकै ‘गिभ एण्ड टेक’ सामान्य सूत्र हो । त्यसैको आधारमा पाँच दलबीच पदको भागवण्डा र लेनदेन भइसकेको छ । यसबाट उत्पन्न असन्तुष्टिलाई साम्य बनाउन कार्यकर्तालाई सम्झाउने र आम मतदातालाई बुझाउने जिम्मेवारी पाँचै दलका शीर्ष नेताहरुको हो । अब पाँच दलले संयुक्त चुनाव प्रचार संयन्त्र गठन गरेर वडा तहसम्मै चुनावी अभियान चलाउन ढिला गर्नु हुँदैन । सहयात्राको बाटो तय गरिसकेपछि गन्तब्यमा नपुगेसम्म मिलेरै सबै चुनौतिको सामना गर्नु उपयुक्त हुन्छ । शीर्ष तहबाटै गठबन्धन विरोधी अभिव्यक्ति र कानेखुसी हुन थाल्यो भने त्यसले सहयात्राको डुङ्गा मात्रै डुब्दैन विश्वासको संकट पैदा हुने र राजनीतिक अस्थिरताको लामो चक्रब्युहमा सिंगो मुलुक फस्ने बाटो पनि तय हुनेछ ।
पाँच दलीय गठबन्धन किन बन्यो, यसको लक्ष्य र उद्धेश्य के थियो भन्ने कुरालाई बीचमा चटक्कै भुल्ने दुस्शाहस कसैले गर्नु हुदैन । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबीच तालमेल गरेर एकले अर्को पार्टीको चुनाव चिन्हमा मत हाल्ने र एमालेका उमेद्वारहरुलाई हराउनुको कारण किन आइपरेको हो भन्ने सत्यलाई कदापी भुल्नु हुदैन । बरु यो कुरा विस्तारै भुल्दै गएका आम मतदातालाई बुझाउन सक्नुपर्दछ । दुई पटक संसद् विघटनको प्रयास भएपछि प्रतिगमनविरुद्धको गठबन्धन बनेको हो । देशको संविधान र लोकतन्त्रमाथि असंवैधानिक तरिकाले हमला हुँदा राष्ट्रिय आवश्यकताको निम्ति बनेको गठबन्धनकै आधारमा केन्द्रमा र प्रदेशमा संयुक्त सरकार बन्यो । अहिले स्थानीय सरकारमा त्यही गठबन्धनले निरन्तरता पाएको हो ।
त्यसका लागि एक पटक र यसैपटक कांग्रेसका तमाम नेता कार्यकर्ताहरुले आफ्ना असन्तुष्टि रिस र आवेग त्यागेर पार्टी निर्णयको कार्यान्वयन र गठबन्धनबीचको सहमतिलाई व्यवहारमा उतार्न जरुरी छ ।
गणेशमान र किसुनजीले राजाको निरंकुशता विरुद्ध वामपन्थी दलहरुसँग गरेको तालमेल, गिरिजाप्रसाद कोइरालाले गणतन्त्र र शान्ति स्थापनाका लागि स्वेच्छाचारी राजा विरुद्ध गरेको सहकार्य कांग्रेस नेता कार्यकर्ताले सम्झनु पर्दछ । तसर्थ शेरबहादुर देउवाले केपी ओलीको निरंकुशता र अतिवाद विरुद्ध शुरु गरेको मिसनलाई हल्का रुपमा लिनु हुदैन । संसद विघटन, राष्ट्रपतिसँग मिलेर ओलीले लोकतन्त्र, कानूनी राज र विधिको शासन विरुद्ध गरेको षडयन्त्रका तानावानालाई चटक्कै भुलेर गठबन्धनको निरन्तरता किन भन्ने प्रश्नमा अल्झनु उपयुक्त पक्कै होइन ।
शेरबहादुर देउवालाई कांग्रेस पार्टीकै अन्तिम प्रधानमन्त्री भन्ने बचन लगाएका केपी ओलीलाई शब्दले होइन व्यवहारबाटै कांग्रेसलाई नेपालको राजनीतिको मियो भूमिकामा स्थापित गर्ने तथा पार्टीलाई सबैभन्दा ठूलो दल बनाउने र कांग्रेसको भावि पीढिका एक से एक नेताहरु नेपालको प्रधानमन्त्री बन्ने आधार तय गरिदिने गोरेटो देउवाले कोर्न खोजेको देखिन्छ । सभापति तथा प्रधानमन्त्री देउवाको यो मिशनलाई साचो अर्थमा सहयोग पुर्याउने र केपी ओलीको अहंकारलाई सदाका लागि परास्त गर्ने अबसरलाई खेरा फाल्ने काम काग्रेस नेता कार्यकर्ताबाट हुनुहुदैन ।
त्यसका लागि एक पटक र यसैपटक कांग्रेसका तमाम नेता कार्यकर्ताहरुले आफ्ना असन्तुष्टि रिस र आवेग त्यागेर पार्टी निर्णयको कार्यान्वयन र गठबन्धनबीचको सहमतिलाई व्यवहारमा उतार्न जरुरी छ ।
नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले पनि अब कांग्रेसको नेतृत्वमा केन्द्रदेखि वडासम्मै बनेका समितिहरु मार्फत सम्पूर्ण शक्तिका साथ इमान्दारी पूर्वक गठबन्धनका उमेद्वारहरुलाई जिताउन मन, बचन र कर्मले चुनावी अभियानमा होमिनु पर्दछ । कुनै प्रकारको तुष अथवा कमजोर मनोभावना गठबन्धनभित्र उत्पन्न हुन नदिनु सबैका लागि श्रेयस्कर छ । गठबन्धन दलहरुबीच आफ्नो स्वार्थका निम्तिमात्रै तालमेलको रणनीति बनाउने भूल भयो भने प्रतिगामी षडयन्त्रले थप प्रश्रय पाउने छ । लोकतान्त्रिक मूल्य मान्यताहरु कमजोर बन्नेछन् ।
अतः पाँच दलका शीर्ष नेताहरुकै अपिल अनुसार नेपालमा लोकतन्त्र र लोकतन्त्रका मुल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिकालागि देशैभर चुनावी सहकार्य र एकअर्कालाई निरन्तर सहयोगको भावनाले बाध्नु जरुरी छ । उम्मेद्वार मनोनयन दर्ता लगत्तै अब पाँचै दलका सबै नेताहरु आफ्नो घरमा जाने, वडामै खट्ने र सबैलाई समेट्ने अभियानमा लाग्नु पर्दछ । कानेखुसी, अन्तरघात र अल्छिपनमा रुमल्लिने नेताका दिन अब रहने छैनन् ।
ओली अहंकारको अन्त्य भएपछि शुरु हुने खुल्ला लोकतान्त्रिक अभ्यासमा गठबन्धनको औचित्य र आवश्यकता आफै समाप्त भएर जाने छ । अध्यारो रात समाप्त भएपछि सुन्दर बिहानी अवश्य आउने छ ।
प्रतिक्रिया