क्रिष्टल प्यालेस र लिड्सले खेले गोलरहीत बराबरी

क्रिष्टल प्यालेस र लिड्सले खेले गोलरहीत बराबरी


ग्लोब नेपाल
189
Shares

लन्डन । क्रिष्टल प्यालेस र लिड्स युनाइटेडले इङ्लिस प्रिमियर लिग अन्तर्गत ३३औँ चरणको खेलमा गोलरहीत बराबरी खेलेका छन् । सोमबार राति लन्डनमा भएको खेलमा दुबै टोलीले गोलका केही अवसर सृजना गरेपनि सदूपयोग गर्न सकेनन् ।

सिजनको अन्त्यतिर आइपुग्दा दुबै टोली रेलिगेशन क्षेत्रबाट टाढिने परिस्थितिमा छन् । क्रिष्टल प्यालेसले ३८ अंकसहित १४औँ स्थानमा छ । लिड्सले ३४ अंक सहित १६औँ स्थानमा छ । जारी लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहँदा एभर्टन, वाटफोर्ड र नर्विच रेलिगेशन क्षेत्रमा छन् ।

युभेन्ट्सको पुनरागमन जित
एक गोलले पछि परेको स्थिति उल्टाउदै युभेन्ट्सले इटालियन सिरी ए मा पुनरागमन जित निकालेको छ । सोमबार राति भएको खेलमा युभेन्ट्सले सासुओलोलाई २-१ अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान बनाउन बलियो सम्भावना बनाएकाे हाे ।

खेलको ३८औँ मिनेटमा जिआकोमो रास्पाडोरीले गोल गर्दै घरेलु टोली आसुओलोलाई अग्रता दिलाए । तर, अर्जेन्टिनी स्टार पाउलो डेबलाले ४५औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

खेल सकिन दुई मिनेट बाँकी रहदा मोइसे केइनले गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरे । जितसँगै युभेन्ट्सले ३४ खेलबाट ६६ अंक बनाएर चौथो स्थानमा रहेको छ । सासुओलो ४६ अंकसहित दशौ स्थानमा छ । सिरीको शीर्ष स्थानमा एसी मिलान रहेको छ ।