अफगानिस्तानमा महिलाहरूलाई ड्राइभिङ लाइसेन्स जारी गर्न रोक

अफगानिस्तानमा महिलाहरूलाई ड्राइभिङ लाइसेन्स जारी गर्न रोक


ग्लोब नेपाल
27
Shares

काबुल । अफगानिस्तानमा तालिबान सरकारले राजधानी काबुल र अन्य प्रान्तहरूमा महिलाहरूलाई ड्राइभिङ लाइसेन्स जारी गर्न बन्द गरेको छ । देश खाद्यान्न संकट र अन्य अत्यावश्यक आपूर्तिको अभावका कारण डरलाग्दो मानवीय संकटबाट गुज्रिरहेका बेला तालिबानले महिलामाथि यस्तो प्रतिबन्ध लगाएको हो ।

तालिबानले सत्ता कब्जा गर्नुअघि काबुललगायत देशका केही प्रमुख सहरहरूमा महिलाहरूले गाडी चलाएको देख्न सकिन्थ्यो । महिलाहरूलाई ड्राइभिङ लाइसेन्स वितरण गर्न बन्द गरेकाले अब सडकमा यस्ता दृश्य क्रमशः घट्दै जाने अनुमान गरिएको छ । गत १५ अगस्टमा अफगान सरकार ढलेपछि अफगानिस्तानमा मानव अधिकारको अवस्था दयनीय बनेको छ । देशमा द्वन्द्वको अन्त्य भए पनि मानवअधिकार उल्लंघनका घटनामा तीब्र बृद्धि भएका छन् । विशेषतः महिलाका हक अधिकारमा अंकुश लागेको छ ।

एउटा पछिल्लो घोषणामा तालिवानले हालैको एउटा आदेशमा तालिबान शासनले ६ कक्षाभन्दा माथिका छात्रालाई विद्यालयमा जान प्रतिबन्ध लगाएको थियो, जसका कारण विश्वव्यापी निन्दा भएको छ । शिक्षकहरूको अभावका कारण आफूहरुले यस्तो निणर्य लिनु परेको र छिट्टै छात्राहरूको अधिकार पुनर्स्थापित हुने तालिबान नेताहरूले बताउँदै आएका छन् ।