‘कांग्रेसकै पक्षमा चुनावी लहर आएकाे छ’

‘कांग्रेसकै पक्षमा चुनावी लहर आएकाे छ’


ग्लोब नेपाल
594
Shares

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारले घरदैलो र भेटघाटलाई तिब्रता दिइरहेका छन् । बाँकेको ८ वटा स्थानीय तहमा उम्मेदवारबीच प्रतिस्पर्धा छ । बाँकेका सबै स्थानीय तहमा कांग्रेसका उम्मेदवारहरु चुनावी मैदानमा छन् । बाँकेमा देखिएको चुनावी माहोल, चुनाव जित्न कांग्रेसको तयारी लगायत विविध विषयमा रहेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीसँग गरिएको संवाद :–

-बाँकेमा चुनावको माहोल कस्तो पाउनु भएको छ ?
बाँकेमा चुनावी माहोल तात्तेको छ । यतिबेला जनमानस नेपाली कांग्रेको पक्षमा छ । नेता, कार्यकर्तामा उत्साह छ । कही कतै केही साथीहरुमा असन्तुष्टी होला । तर, निर्वाचनको यो संघारमा आईपुग्दा ती असन्तुष्टीलाई बिर्सेर उहाँहरु पनि गठबन्धनका उम्मेदवार जिताउन लागिपर्नु भएको छ ।

-पार्टी भित्रका असन्तुष्टी कसरी मेटिए ?
कांग्रेस एउटा ठुलो पार्टी हो । यहाँ धेरै कार्यकर्ताहरुले वर्षौदेखि मेहनत गरिरहनु भएको छ । पार्टीका कार्यकर्ताको ठुलो लगानी छ । यति ठुलो पार्टीको निर्वाचन परिणाम सफल हुन सकेन भने वा विजयी गराउन सकिएन भने इज्जत र प्रतिष्ठाको कुरा आउँछ । त्यसैले पनि उहाँहरु यतिबेला पार्टी जोगाउन लागि पर्नुभएको छ । टिकटको विषय छोडेर पार्टीलाई जिताउन लागिपर्नुभएको छ । आशा छ, उहाँहरुको देनले पक्कै फल पाउनेछ ।

-निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनका लागि के–के गरिरहनु भएको छ ?
हामी सबै अहिले कसरी अत्याधिक मत ल्याएर विजयी हुने भनेर केन्द्रित भएका छौँ । प्रत्येक टोल, वडामा दलित, जनजाति लगायत सबै समुदायको घरदैलोमै पुगिरहेका छौ । नेपालगन्जमा गठबन्धनबाट जुझारु उम्मेदवार उठ्नु भएको छ । उहाँहरुको जित निश्चित छ । वडाध्यक्षहरुलाई पनि जिताउनका लागि हामी प्रयास गरिरहेका छौँ । केही वडामा हाम्रो गठबन्धनमा रहेका माओवादी, जसपा कमजोर अवस्था देखिएको छ । त्यहाँ पनि उनीहरुलाई जिताउनका लागि हामी योजना बनाइरहेका छौं । केही वडामा तालमेल गरेर अघि बढ्नका लागि छलफल गरिरहेका छौँ ।

-नेपालगन्ज उपमहानगरमा गठबन्धनले नै जित्ने आधार के छ ?
कांग्रेस नेपालको एक प्रजातन्त्र पार्टी हो । नेपालमा प्रजातन्त्र ल्याउनका लागि पनि योगदान दिएको पार्टी हो । कांग्रेसले नै देशमा भएका परिवर्तनहरुको नेतृत्व लिएको छ । अब नेपालगन्जको विकास र परिवर्तनका लागि पनि कांग्रेसले जित्नु आवश्यक छ । किनकी नेपालगन्ज देशमै एउटा फरक पहिचान बोकेको शहरका रुपमा छ ।
यहाँका अस्पताललाई शिक्षण अस्पताल बनाउन, युवाहरुलाई रोजगारी दिन, महिला उद्यमी तयार पार्न, स्वास्थ्य खोप, दिर्घकालिन रोगको उपचार गर्न, निःशुल्क स्वास्थ्य परिक्षण लगायतका घोषणा पत्रमा उल्लेख गरिएको छ । नगर शहरी करण र सरसफाईमा जागरुपता ल्याउन, फोहोर व्यवस्थापन लगायतका काममा प्राथमिकता दिइने घोषणा पत्रमै उल्लेख छ । सुख्खा बन्दरगाह देखी लिएर इन्द्रपुर, प्रिपहवा लगायत जोड्ने रिङ रोड बनाउने लगायतका योजना पनि समेटिएका छन् । सुशिल कोइराला प्रधानमन्त्री हुँदा नै नेपालगन्जमा एडिबीको योजना आएको थियो । जसले नेपालगन्जमा विकासको महसुस भएको छ । गठबन्धन निर्वाचित भएका फेरीपनि यस क्षेत्रको विकासका लागि विभिन्न दातृ निकायबाट योजना ल्याउनेछौँ ।

-निर्वाचित हुनेले नेपालगन्जका लागि के गर्न आवश्यक छ ?
मलाई लाग्छ, यस शहरलाई पर्यटकिय गन्तव्य बनाउनुपर्ने रहेछ । सुशिल कोइराला प्रधानमन्त्री हुँदा यहाँ ठुल्ठुला स्टार लेभलका होटेलहरु खुले । भारतबाट मानसरोवर जानेहरुका लागि नेपालगन्ज गेट वे का रुपमा विकास भयो । भारतबाट मानसरोवर जान आएकाहरुका लागि अब जमुनादेखी हिल्सा सम्मको बाटो निर्माण गर्ने योजना नेपालगन्जले ल्याउन सक्छ । यहाँ यति धेरै स्टार लेभलका होटेलहरु छन् । उनीहरुलाई एक÷दुई दिन नेपालगन्जमा बास बसाउने व्यवस्था गर्न सके यहाँको आर्थिक समृद्धिमा टेवा पुग्छ ।

-जमुनाहादेखी हिल्सा सम्मको बाटो निर्माण गर्ने योजना कत्तिको सम्भव छ ?
सम्भव छ । ट्रयाक खुलिसकेको अवस्था छ । त्यसको व्यवस्थापन गर्न सके भैहाल्छ । यो कामका लागि नेपालगन्ज उपमहानगरपालिकाले पहल गर्न सक्छ । यो बाटो बनोस भनेर कर्णाली प्रदेशले पनि चाहेको छ । हामीले आँट देखाए सम्भभव छ ।

-अब, अन्त्यमा के भन्न चाहानुहुन्छ ?
नेपाली कांग्रेसले दिएको युवा नेता, प्रौढले माया गरे भने अवश्य जित्छ । यो जित युवाको हो, विकासको हो, नेपालगन्जको हो । युवाहरु यति बेला उत्साहित छन् । युवाहरुले अव नेतृत्व लिनुपर्छ भन्ने पनि हो । अन्त्यमा निर्वाचनका क्रममा जिल्लामा शान्ति सुरक्षा होस्, इमान्दारी र निष्पक्ष रुपमा मतदान होस्, निर्वाचनमा लोभ लालच र प्रलोभनमा पारेर प्रभावित पार्ने काम नहोस् भन्ने जोडदार माग गर्दछु ।