उपमेयर र वडाध्यक्ष पदका उम्मेदवारको मृत्यु

उपमेयर र वडाध्यक्ष पदका उम्मेदवारको मृत्यु


ग्लोब नेपाल
351
Shares

कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदका उम्मेदवार शुभावती कुर्मीको मृत्यु भएको छ । नगरपालिकाका निवर्तमान उपमेयरसमेत रहेकी कुर्मी नेपाली काँग्रेसबाट पुनःउम्मेदवार भएकी थिइन । गए राती श्वास प्रश्वासमा असहज भए पछि उपचारको लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो ।

उपचारको क्रममा राति १ बजे निधन भएको स्थानीय व्रिजेश यादवले बताए । उनकाे हृदयघातको कारण मृत्यु भएको बताइएको छ । मृतक कुर्मीको शवको आजै दाह संस्कार गरिने तयारी गरिएको छ ।

वडाध्यक्षका उम्मेदवार चौधरीको निधन
दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।

नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका चौधरीकोे काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धि रोगबाट पीडित हुनुहुन्थ्यो ।

यसअघि उहाँ तुलसीपुर–१७ को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । चुनाव प्रचारकै क्रममा चौधरी एक्कासी बिरामी पर्नुभएको हो । उहाँलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।