लखनउ प्लेअफ पुग्ने दोस्रो टिम

लखनउ प्लेअफ पुग्ने दोस्रो टिम



नयाँ दिल्ली । कोलकाता नाइट राइडर्सलाई २ रनले हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।

बुधबार राति जितसँगै प्लेअफ पुग्ने लखनउ दोस्रो टिम बन्यो । यसअघि नयाँ टोली गुजरात टाइटन्स प्लेअफमा स्थान बनाएको छ । मुम्बईमा लखनउले दिएको २११ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर २०८ रनमा समेटियो । उसका लागि कप्तान श्रेयस आयरले सर्वाधिक ५० रन बनाए । नितिश रानाले ४२ तथा रिन्कु सिंहले ४० रनको योगदान गरे । लखनउका मार्कुस स्टोनिस र मोसिन खानले ३-३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा विना विकेटको क्षतिमा २१० रनको विशाल योगफल खडा गरेको थियो । लखनउका ओपनर क्विन्टन डी ककले अविजित १४० रन बनाए । अर्का ओपनर तथा कप्तान केएल राहुलले अविजित ६८ रन बनाए । जितसँगै लखनउले १४ खेलबाट १८ अंक जोडेको छ । कोलकाता १२ अंक जोडेर छैटौं स्थानमा छ ।