पोखराको मेयरमा धनराज आचार्य जीत नजिक

पोखराको मेयरमा धनराज आचार्य जीत नजिक


ग्लोब नेपाल
0
Shares

पोखरा । पोखराको मेयरमा एकीकृत समाजवादी जीत नजिक पुगेको छ । स्थानीय तह चुनावमा खसेको कुल मतमध्ये हालसम्म ८५ प्रतिशत मतगणनामा समाजवादीबाट मेयर उम्मेदवार धनराज आचार्य ३ हजार ९ सय ७९ मतान्तरले अघि छन् । अब २१ हजार ७ मतमात्र गणना गर्न बाँकी छ ।

सोमबार बिहानसम्म आचार्यले ४९ हजार २ सय ४१ मत प्राप्त गर्दा एमालेका कृष्ण थापाले ४५ हजार २ सय ६२ मत ल्याएका छन् । पोखराका कुल ३३ वटा वडामध्ये अब ८ वटाको मात्र मतगणना हुन बाँकी छ । गणना भइरहेका वडामा समेत आचार्यकै पक्षमा मत बढी छ ।

पोखराको वडा १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को अन्तिम नतिजा आउन बाँकी हो । एमालेले विपक्षीसँग वडा १७, १९ र २१ मा मतान्तर ठूलो पार्ने आशा गरेकोमा ती वडामा समेत झिनो मतान्तर भएकोले एमालेको हार करिब निश्चित छ । २०७४ सालको नतिजा हेर्दा यसबाहेक अन्य वडामा एमालेको पक्षमा बढी नै मत आउने सम्भावना कमै छ । यसैले पनि यसपालि एकीकृत समाजवादीले पोखराको मेयर पाउने सम्भावना करिब निश्चित भएको हो ।

उपमेयरमा एमालेले निश्चित भएको छ । विगतमा पनि उपमेयर बनेकी एमालेकी मञ्जुदेवी गुरुङ जीत उन्मुख छन् । उनले गठबन्धनबाट कांग्रेस उम्मेदवार कोपिला रानाभाटलाई ३ हजार ९७ मतले पछि पारेकी छन् । गुरुङले ५१ हजार ५ सय ८९ मत प्राप्त गर्दा रानाभाटले ४८ हजार ४ सय ९२ मत ल्याएकी छन् ।