युरोपा कन्फरेन्स लिग फुटबलको उपाधि रोमालाई

युरोपा कन्फरेन्स लिग फुटबलको उपाधि रोमालाई



लन्डन । युरोपा कन्फरेन्स लिग फुटबलको पहिलो संस्करणको उपाधि इटालियन फुटबल क्लब ए.एस रोमाले जितेको छ । अल्बानियाको राजधानी तिरानामा बुधबार राति भएको फाइनल खेलमा नेदरल्याण्ड्सको फेयनुर्डलाई १–० ले हराउँदै रोमाले उपाधि जितेको हो ।

खेलमा रोमालाई विजयी गराउन निकोलो ज्यानियोलोले ३२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै रोमाका प्रशिक्षक जोजे मौरिन्हो युरोपियन क्लब फुटबलमा सबै प्रतियोगिता जिताउने पहिलो प्रशिक्षक बनेका छन् । पोर्चुगिज प्रशिक्षक मौरिन्होले युएफाका चर्चित प्रतियोगिताहरु च्याम्पियन्स लिग र युरोपा लिग जिताईसकेका छन् ।

युएफाले यसै सिजनबाट सुरु गरेको युरोपा कन्फरेन्स लिग युरोपको तेस्रो वरियताको प्रतियोगिता हो । च्याम्पियन्स लिग र युरोपा लिगमा छनौट नभएका टोलीहरुले कन्फरेन्स लिगमा सहभागिता जनाउन पाउँछन् ।