मङ्कीपक्स भाइरसविरुद्ध खोप अभियान संचालन गरिने

मङ्कीपक्स भाइरसविरुद्ध खोप अभियान संचालन गरिने



फ्रान्समा मंकिपक्स भाइरस विरुद्ध खोप अभियान संचालन गरिने भएको छ । विश्वका धेरै देशमा मङ्कीपक्सको संक्रमण देखिएपछि यस विरुद्धको खोप अभियान संचालन गरिने भएको हो ।

फ्रान्सको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले मङ्कीपक्स विरुद्ध अति छिटो सतर्कता अपनाउँदै प्रतिरोधात्मक तथा उपचारात्मक उपायलाई प्राथमिकता दिने रणनीति अनुसार खोप अभियान चलाउने निर्णय गरेको हो ।

फ्रान्समा यो घोषणा हुँदासम्म तीन जनामा मात्रै मङ्कीपक्सको सङ्क्रमण देखिएको छ । तर संक्रमण फैलिन सक्ने उच्च खतरा रहेको निष्कर्षसहित अभियान सुरु गरिएको अधिकारीहरूले जनाएका छन् ।

प्राधिकरणले जारी गरेको प्रेस वक्तव्यमा वयस्क र स्वास्थ्यकर्मीहरु यसको जोखिममा रहेकाले खोप पनि उनीहरुलाई केन्द्रित गर्ने उल्लेख गरिएको छ । सङ्क्रमित भएको व्यक्तिसँग ४ दिनदेखि १४ दिनसम्मको अवधिमा भौतिक सम्पर्क हुनु जोखिमपूर्ण भएकाले त्यही बेलामा खोप लगाउने व्यवस्था गर्न लागेको जनाइएको छ ।

प्राधिकरणका अधिकारीहरूले खोपको आवश्यकता परेको व्यक्तिलाई दुई वा तीन डोजको आवश्यकता पर्ने पनि जानकारी दिएका छन् । विश्वका धेरै देशमा मङ्कीपक्सका सङ्क्रमितहरू फैलिदै गएपछि नयाँ त्रास सृजना भएको हो । कतिपय देशहरुले यस बारेमा सतर्कता अपनाउन थालिसकेका छन् ।