राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्वीमा कम्पनीबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्वीमा कम्पनीबीच सम्झौता


ग्लोब नेपाल
540
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पुनर्वीमा कम्पनी लिमिटेडबीच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात दुईवर्ष सेवाअवधि पूरा गरेका पुनर्बीमा कम्पनीका कर्मचारीहरुलाई पुनर्बीमाको सिफारिसमा अधिकतम १५्र लाख रुपैंयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्नेछ । बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ६.९७ प्रतिशत रहेको छ । सम्झौता अनुसार पुनर्बीमा कम्पनीको कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्झौतापश्चात दुवै पक्ष लाभान्वित भई पुनर्बीमाका कर्मचारीहरुको सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यो सम्झौताले दुई सरकारी संस्थाको व्यवसाय विस्तारमा सहयोग पुग्ने बताए । पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले दुई संस्थाबीचको सम्बन्धलाई व्यवहारिक र बस्तुपरक बनाउदै लैजाने बताए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कार्यक्रमको विषयबस्तु बारे प्रकाश पारेका थिए ।

कार्यक्रममा बैंकका विभागीय प्रमुख राज्यलक्ष्मी खड्गी, पुनर्बीमा कम्पनीका बरिष्ठ प्रबन्धक रन्जना थकुलवट, प्रबन्धक सरोज कोइराला, थापाथली शाखाका शाखा प्रबन्धक बिक्रममान श्रेष्ठलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।