माधवमणिप्रति श्रद्धाञ्जली !

माधवमणिप्रति श्रद्धाञ्जली !



गम्भीर स्वास्थ्य समस्याका कारण लामा समयदेखि उपचाररत रहनु भएका नेपाली कांग्रेस दोलखाका पूर्वसभापति माधवमणी राजभण्डारीको मिति २०७९।०२।१२ गते दुखद् निधन भएको छ । कांग्रेस पार्टीसँग धेरै पुरानो सम्बन्ध रहेको राजभण्डारी परिवारका उदार सामाजिक तथा राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो– माधवमणी । पञ्चायती चुनावमा जिल्लास्तरका विभिन्न तहमा प्रतिस्पर्धी रहनु भएका राजभण्डारीले आफूले व्यवसायिक जीवनबाट आर्जन गरेको मात्र होइन, पैत्रिक सम्पत्तिसमेत खर्च गरेर सामाजिक क्षेत्रमा योगदान पु¥याउनु भएको थियो । समय र परिस्थितिअनुसार सर्वसाधारण मानिसका समस्याहरु समाधान गर्न धेरै खर्चिनु भएको छ । धेरै मानिसले सहयोग पाएका छन् । सहयोग लिने तर असहयोग हुने नियतिबाट सबैभन्दा पीडित भएको व्यक्ति हुँ भन्नुहुन्थ्यो । सम्पन्न परिवारको सदस्य भएर मात्र होइन, सामाजिक दायित्व र जिम्मेवारी बहन गर्नुपर्छ भन्ने भावनाबाट समेत प्रभावित भएकैले हुनुपर्छ, राजभण्डारीले गरेको योगदानलाई पुराना मानिसहरुले राम्रोसँग स्मरण गर्ने गरेका छन् ।

व्यक्तिगत रुपमा मेरो धेरै सामिप्यता रहेन । कतिपय स्वभावगत कारणले न नजिक न टाढाको सम्बन्ध थियो । अलि खरो स्वभाव तर दयालु भावनाको मानिस हुनुहुन्थ्यो भन्दथे नजिककाहरु । तर मैले धेरै बुझ्नेपर्छ भन्ने ठानिन् । पञ्चायती व्यवस्थाको पच्चिस वर्षमा पच्चिस वसन्त भन्ने चलचित्र निर्माण गरेकोमा प्रजातन्त्रवादीहरु उनको आलोचना गर्थे । आलोचना गर्नेहरुले नै सहयोगका लागि उनका पुग्थे भन्ने सुन्थे । त्यस्ता मानिसहरुसँग एकछिन रिसाए पनि सहयोग नै गरेर पठाउँथे भन्ने स्वीकारोक्ति निकटतम व्यक्तिहरुको थियो । त्यसले बोली कठोर भए पनि राजभण्डारीको मन कोमल नै थियो होला भन्ने अनुमान लगाउन सकिन्छ ।

‘पच्चिस बसन्त’ बनाएकोमा भएको आलोचनाभन्दा बाहेक राजभण्डारी परिवारले त्यो समाजलाई धेरै दिएको नै थियो । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले सहयोग र आश्रय पाएका नै थिए । कति व्यक्तित्वहरुले त माधवमणीको व्यवसाय नै धरापमा पारिदिएको भन्ने सुन्थे । २०५१ सालको निर्वाचनमा दोलखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्नुभएको थियो, तर निर्वाचित हुन सक्नु भएन । त्यो बेला निर्वाचित भएका सांसद मध्यबाट कसैले सुविधाको गाडी किनेर प्रयोग गर्न दिएकोमा पछि गाडी फिर्ता लिए भन्ने हल्ला व्यापक भयो । तर त्यसलाई माधवमणीजीले विषय बनाउनु भएन । साथीभाइले गरेको बेइमानीको किन धेरै चर्चा गर्नु ? भन्ने माधवमणीजीको भनाइ थियो । अलि बढी विश्वास गर्ने स्वभावका कारण माधवजी सफल हुनुभएन भन्ने बुझाइ निकटवर्तीहरुको रहेको छ ।

सम्पन्न परिवारको सदस्य भएर मात्र होइन, सामाजिक दायित्व र जिम्मेवारी बहन गर्नुपर्छ भन्ने भावनाबाट समेत प्रभावित भएकैले हुनुपर्छ, राजभण्डारीले गरेको योगदानलाई पुराना मानिसहरुले राम्रोसँग स्मरण गर्ने गरेका छन् ।

२०४६ सालदेखि निरन्तर सक्रिय राजनीतिमा नै देखेको हुँ । अवसर नपाएको भन्ने पनि होइन । एकपटक पार्टीको जिल्ला सभापति, एकपटक प्रतिनिधिसभाको टिकट प्राप्त गरेको तथ्य हेर्दा अवसरबाट बन्चित भएको भन्न सकिँदैन । तर समकालीन व्यक्तिहरुले जे जस्ता अवसर पाए, त्यस तुलनामा माधवमणीजीले नपाएको भन्न सकिन्छ । अन्य वरिष्ठ व्यक्तिहरुले त्यत्ति पनि अवसर नपाएको सन्दर्भमा नेपाली कांग्रेसले माधवमणीजीलाई न्याय नै गरेको देखिन्छ । प्रयाप्त नभएको लाग्नु अन्यथा होइन । उहाँकै सहोदर भाइ दिव्यमणी राजभण्डारी अहिले बहालवाला प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । पारिवारिक रुपमा नै पार्टीप्रति लगाव भएकोले अवसर प्राप्त हुँदा त्यसैअनुरुप फरक फरक सदस्यले प्राप्त गरेको जिम्मेवारीलाई सकरात्मक रुपमा स्वीकार गर्न सक्नुपर्छ ।

समग्रमा स्वर्गीय माधवमणी राजभण्डारीको योगदान दोलखा जिल्लावासीले भुल्दैनन् । पुराना पुस्ताले त उहाँको प्रशंसा नै गर्छन्, नयाँले त्यत्ति धेरै बुझेको छैन होला । कांग्रेसको पुराना पुस्ताले प्राप्त गरेको सहयोग बिर्सदैन होला । नयाँ पुस्तालाई जानकारी कम हुनसक्छ । दोलखा जिल्लामा आर्थिक, सामाजिक क्षेत्रमा सहयोग गर्नेहरुमा आङदोर्जे शेर्पा र माधवमणी राजभण्डारी नै हुनुहुन्थ्यो । धेरै पुराना कांग्रेसीहरुलाई आङदोर्जे र माधवमणीले सहयोग, संरक्षण गर्नुभएको पाइन्छ । ठमेलमा रहेको स्वर्गीय शेर्पाको गौरीशंकर होटल र राजभण्डारीको एमएम इन्टरनेशनल होटलमा धेरैले बास बसेका होलान्, खाना खाएका छन् र खर्च पनि लिएका छन् । त्यो स्मरण गर्न नचाहे पनि बिर्सन चाहिँ सक्दैनन होला, जो जसले त्यो साथ, सहयोग तथा संरक्षण प्राप्त गरेका छन् । अहिले दोलखाबाटै प्रतिनिधित्व गर्ने सांसद जिपछिरिङ लामाले जे जस्तो किसिमले सामाजिक, शैक्षिक, सांस्कृतिक, धार्मिक, राजनीतिक तथा व्यक्तिगत रुपमा सहयोग गर्नुभएको छ, त्यही किसिमको सहयोग पञ्चायती व्यवस्थाका कठिन दिनहरुमा र २०४६ पछिका प्रारम्भिक दिनहरुमा देशभरिका कांग्रेस, पञ्चायतविरोधी अन्य दलका व्यक्ति तथा जिल्लावासीहरुले स्वर्गीय आङदोर्जे शेर्पा र स्वर्गीय माधवमणी राजभण्डारीबाट प्राप्त गरेका थिए । त्यस अर्थमा पनि स्वर्गीय माधवमणी राजभण्डारीको राजनीतिक सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ ।

मृत्यु अवश्यंभावी छ । रोगले ग्रस्त बनाएको जीर्ण शरीरलाई आत्माले विश्राम दियो । त्यसबाट पुगेको क्षति परिपुरण हुने कल्पना पनि गर्न सकिँदैन । मृतआत्माले चीर शान्ति प्राप्त गरोस्, परिवारजनले धैर्यधारण गर्ने शक्ति प्राप्त गरुन भन्नेकामना शुभचिन्तकबाट भएको छ । यसलाई आफ्नो अभिभावकले समाजमा गरेको योगदानको कदरको रुपमा परिवारका सदस्यहरुले लिनुपर्छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा माधवमणीजीले पु-याउनु भएको योगदानलाई उच्च सम्मान गर्नु आजको पुस्ताको दायित्व र जिम्मेवारी हो । यो पुस्ता केवल आफ्नो व्यक्तिगत स्वार्थमा मात्र नभुली राजनीतिक सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गर्नेहरुको विगतका बारेमा पनि जानकार हुनसकोस र सिकोस् । आजको दिनसम्म आइपुग्न माधवमणीजस्ता धेरै व्यक्तिहरुको ठूलो लगानी छ । त्यस्ता व्यक्तिको मृत्युले निश्चय नै क्षति पु¥याएको छ । यसको लेखाजोखा र समीक्षा चलिरहोस् ।

स्वर्गीय राजभण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली परिवारजनमा समवेदना ।