म बेचिएको कुरा

म बेचिएको कुरा



पँधेर्नीहरूको
गाग्रीभरि छचल्किएर
खासखुस चल्छ
म बेचिएँ रे ।

नाक, कान, आँखा छाम्दा
त्यही ठाउँमा पाउँछु
हात–खुट्टा पनि
सग्लै छन्
म रमाउँछु
म उफ्रन्छु
कसले भन्छ –
म बेचिएँ
म बेचिएकी छैन ।

मेलामा पुग्दा
हलीदाइहरूले
म बेचिएको कुरा
जोतिरहेका हुन्छन्

रोपाहारहरूले
रोपिरहेका हुन्छन् उही कुरो
म बेचिएको

मेरो निधारबाट
थाहै नपाई
चिसो पसिनाको दाना खस्छ

आखिर ढुकढुक गरेर चल्ने मुटु
चलिरहेकै छ
छङछङ गरेर बग्ने नलीमा
रगत बगिरहेकै छ

ठम्याउनै सकिनँ मैले
म कहाँनिर बेचिएँ
कसले कुन बेला बेच्यो मलाई ?
तर,
गराभरि गुभोमा रोपिएर
बयेली खेल्दै फैलिएको छ अझै
म बेचिएको कुरा ।