धागो चुडिएका चंगा हामी

धागो चुडिएका चंगा हामी



घरको छतबाट
चंगा उडाउदा
कसैले चंगा चेट गरी हाले पनि
आफ्नै बगैचामा खस्ला
आफ्नै टारीमा
वा
नजिकै छिमेकीको बारीमा झर्ला
केही गरी अलि पर पुगे पनि
देशको माटोमा खस्ला
चाहेमा हामी
त्यसलाई दौडेर
टिपेर ल्याई जोडजाड गरी
फेरी लटाईको
बाँकी धागोमा गाँस्न पनि सक्छौ
चाहेमा फेरी चंगा उडाउन सक्छौ
तर लटाईबाट छुट्टी सकेका चंगाहरू
जानी/नजानी
चंगा चेट पारेर खसेका

खसाईएका चंगाहरू
घरको सिमाना भन्दा
अलि पर परदेशमा पुगे पछि
धागो चुडिएका चंगाहरू
गर्मीको धुपले रंग उडेर
चिन्नै नसकिने हुन्छन्
न यसलाई चंगा धनीले फिर्ता लिन्छ
न भेट्नेले गोद लिन्छ
लटाईबाट थोरै धागोसँगै
छुट्टयाईएको चंगा
फेरी लटाईको धागोमा जोड्न
राहदानी र भिषा जो चाहिने भए पछि
यस्को के काम ?
न कसैले चाडबाडमा सम्झन्छ
अरूको त के कुरा न आफ्नैले संझन्छन्
मरेको सिनो पनि आफै बीच बाड्नेहरूले
न कुनै सम्झनाको चिनो दिन्छन्
हामी धागो चुडिएका चंगा भएका छौं

श्रीजङ्गा-४, तेल्लोक, ताप्लेजुङ
हाल: डेजर्ट रोज, दोहा, कतार।