नयाँ भट्टी

नयाँ भट्टी



मेरो गाउँको पूर्वी छेउमा फेरि अर्को भट्टी खुलेछ । नयाँ भट्टी । यसको चर्चाले अहिले गाउँमा नयाँ तरङ्ग ल्याएको छ । गाउँमा जो नयाँ आउँछ, ऊ मात्र नयाँ हुन्छ । बाँकी सबै गाउँका नै हुने भएकाले नयाँ कोही आयो भने केही दिनसम्म चिया पसल या चौतारीतिर त्यहीमात्र छलफलको विषय हुन्छ । केटी रहिछ भने कसकी छोरी, नातिनी या बिहे भएकी भए – कसकी बुहारी वा कसकी पत्नी हो भनेर जानकारी नराख्ने कमै हुन्छन् । केटा रहेछ भने कहाँको हो, कसको छोरो वा नाति हो र किन हाम्रै गाउँमा आएछ त ? भन्नेसमेत चियो चर्चो गरिन्छ । बाहिरबाट आएकी एक्ली केटीले रक्सी सहितको होटेल थापेपछि चर्चा नहुने कुरै भएन ।

पसल्नी न धेरै अग्ली, न धेरै होची, न धेरै मोटी, न धेरै दुब्ली । चिटिक्क परेकी बान्कीकी । न धेरै गोरी, न धेरै काली । ठिक्ककी । हँसिली र फरासिली । जे दिँदा पनि दुईहातले दिने । ग्राहकसँग हाँसेर बोल्ने । जाडोमा पनि हाफ चोलो र स्कर्टमात्र लगाउने । घुँडामुनि कुनै पनि लुगा आउन नपाउने गरी चरिचिट्ट परेर बस्ने । राम्री न राम्री । रक्सी धित मर्नेगरी खान दिने र पैसा पनि त्यस्तो महङ्गो नलिने । यति भएपछि रक्सी पिउने ग्राहकलाई के चाहियो !

आफ्ना ग्राहक नयाँ भट्टीवाल्नीको पसलतिर लागेपछि चिया र सियाका अरू पसल्नीहरूले डाहा गर्न थाले । आफ्नो पसलतिर नहेरी हिँड्ने आफ्ना पुराना ग्राहकलाई व्यङ्ग्य गर्न थाले— ‘त्यही नयाँ पसल्नीका तिर त जान लागेका हौला नि । पुरानो बाँकीचाहिँ छिटै तिर है, नत्र कठालो समाएर बेइज्जत गर्नु पर्ला ।’

केटाहरू हाँसेर भन्थे— ‘कति तिम्रोमात्र अनुहार हेर्नु नि ! यसो उनको पनि कुरा सुनौँ, अनुहार पनि हेरौँ । साँच्चै पो राम्री छे त है ! बानी पनि तिम्रोभन्दा असल रै’छ । पटक्कै रिसाउँदिनन् ।

पुराना पसल्नीहरू भन्थे– ‘पैसा पनि एकपैसा पनि छोड्दिनन् अनि उधारो पनि पटक्कै दिन्नन् चाहिँ किन भन्दैनौ ?’

‘अहिले नयाँ ग्राहक छौँ, पुरानो भएपछि उधारो पनि चल्ला । उनी हामीसँग हात हालेरै चल्छिन् । काउकुती लगाउछिन् र लुगा तानेर बस्नुस् भन्दै घन्टौँ राख्छिन् । रक्सी खान मन नभए नखाओ भन्छिन् तर बसेर बात मारुँ भनेर ढिपी गर्छिन् । यसरी ग्राहकको सत्कार गर्न तिमीहरूले जान्नु पनि त पर्यो ।’

त्यसो गरेको ग्राहकहरू भरिभराउ छन् है भन्ने पार्न पनि हुनसक्छ । बिस्तारै बानी पार्नका लागि अलमल्याएको पनि हुनसक्छ । जे होस्, एकजनाले मात्र पसलमा कसरी भ्याएको होला ! सबै यस कुरामा अचम्म मान्छन् । हामी भट्टीतिर नजानेलाई पनि एकपटक त हेर्न जाऊँजाऊँ लाग्छ ।

कोही भन्थे— ‘यो त बम्बईबाट आएकी केटी हो, कताकी हो कसैलाई थाहा छैन ।’ कोही भन्थे— ‘यो दार्जीलिङतिरबाट आएकी गोरुको मम बेच्ने केटी हो ।’ कोही भन्थे— ‘यस्ती हँसिली केटी त यताकी हुँदै होइन, पक्कै नै भारततिरबाट नै आएकी हुनुपर्छ ।’ तर उसको मिजासले भने सबैलाई प्रभावित पारेको थियो । सबै यो मान्न बाध्य हुन्थे – केटी सभ्य छे, चलाख छे, सिपयुक्त छे, पकाएको कुरा स्वादिष्ट बनाउँछे र ग्राहकलाई माया पनि गर्छे । रक्सी बेच्दा नापेरमात्र दिन्छे । तोकेको औँसमात्र बेच्छे । बाहिरबाट न त रक्सी लिएर आउन दिन्छे, न त बढी नै भयो भनेर आफ्ना पसलबाट रक्सी बाहिर लिएर जान दिन्छे, न त मातेर कसैलाई केही दुर्वचन बोल्न नै दिन्छे । मातेर जथाभावी बोल्न थाले भने तत्कालै प्रहरीलाई बोलाउन पनि पछि पर्दिन । यसै कारण ऊदेखि केटाहरू डराउँथे पनि ।

अर्को विशेषता, ऊ पसलमा आफू पनि चुरोट बेच्दिन र पसलमा कसैलाई चुरोट खान पनि दिन्न । खैनी, बिडी, पान पनि खान बन्देज लगाएकी छ । ‘जति बोले पनि बोल, जति जिस्किए पनि जिस्केऊ, हात हालेर चले पनि चल तर फोहोर बचन बोल्न र सीमा नाघेर चल्न भने पाइँदैन’ भनेर बन्देज लगाएकी छ ।

अझ सुनियो— रक्सी नखानेहरूका लागि उसले चिया दिन नयाँ बेग्लै काँचका या स्टिलको कप राखेकी छ । मधुमेह हुनेहरूका लागि बेग्लै हर्बल चियाको व्यवस्था गरेकी छ । सबैभन्दा ठूलो विशेषता त गाउँमा उधारोमा केही पनि नदिनु नै हो । उधारोमा त दिँदै नदिने भनेपछि एकथरि उधारोमा खान पल्केकाहरूलाई त्यो पसलको ढोका नै बन्द भएको मानिने भएछ । तर पनि उनको व्यवहारले भने सबै त्यतै ढल्किएका देखिए ।

रक्सी, ग्राहक र माया । रक्सी पसलका यी स्थायी भ्रम हुन् र निरन्तर चल्ने भयानक वृत्तको पाटो पनि हुन् । नियमित आकस्मिकता । रक्सी ग्राहकविना चल्दैन, ग्राहक रक्सी खाएपछि मायाका कुरा नगरी रहन सक्दैन र एकछिनपछि ती सबै आफैँ हराउँछन् । यति कुरा उसलाई थाहा छ । कुनै माया त स्थायी पनि हुनसक्ला तर मनभित्रमात्रै । बाहिर भन्न नमिल्ने । तर उसको पसलमा एउटा भ्रम भने पाल्न पाइने रहेछ— भट्टीवाल्नी मलाई धेरै माया गर्छे भन्ने । सबै ग्राहकलाई ऊ रक्सीसँगै माया बाँड्छे । तर त्यो माया क्षणिकमात्र हो कि स्थायी हो भनेर छान्ने समय अझै आएको छैन ।

हाम्रो गाउँका बीचैबाट पहाडी राजमार्गको बाटोमा मोटर दौडन थालेको छ । पहिलेको नेपाल भनौँ न, राजधानी पुग्न हिँड्ने लाठेलाई पनि ३ दिन लाग्थ्यो , अहिले सामान्य बसमा पनि ४ घन्टामा काठमाडौँ पुगिन्छ । बाटोमा गाडीहरू दौडिरहेका हुन्छन् । नयाँ होटल भनौँ कि भट्टीमा दसौँ गाडी रोकिन्छन् र सबैले खाना खान्छन् । कसरी एक्लैले त्यो व्यवस्था सम्भव भएको होला भनेर सबै छक्क परेका छन् । एक्लै केटी, नयाँ पसल भनौँ कि भट्टी जुन गाडीका यात्रुका लागि पनि रोकिएर खानका लागि व्यवस्थित छ । सबैलाई स्वादिष्ट र ताजा खान दिन कसरी सकेको होला ?

कसले दियो उसलाई त्यो पसल या होटेल वा भट्टी राख्ने ठाउँ ? त्यो घर त पहिले जेठा मगर दाइको थियो । पछि कसले कसलाई बेच्यो र अहिले कसको नाउँमा छ र भाडामा कसले कसरी दियो होला ? मेरो मनमा धेरै प्रश्न उठे र एकदिन म पनि त्यहाँ पुगेँ । यसो अनुहार हेरेको कता कता जेठा मगर दाइकी श्रीमती जेठी भाउजुको अनुहारसँग पो उनको अनुहार मिलेको जस्तो लाग्यो ।

मैले सोधेँ— ‘तिम्रो नाम के हो त नानी ?’ तत्कालै चिनीविनाको हर्बल चिया दिँदै उनले भनिन्— ‘म उषा मगर । यसै गाउँका जेठा मगरकी कान्छी छोरी । म बाबासँगै सानैमा यो गाउँबाट बाहिर गएकी रहेँछु । पछि थाहा भयो, यहाँ हाम्रो जग्गा र घर पनि छ । घर त भत्किएछ तर जग्गामा आएर यो पसल भनौँ कि भट्टी भनौँ थापेर बसेकी हुँ । होटेल होस् वा भट्टी, अनुशासनमा चलाउनु पर्छ भनेर मैले सुरु गरेकी हुँ । अहिले एक्लै छु । केही समयपछि मेरो भाइ –सानीमाको छोरो र मेरा बूढा मलाई सहयोग गर्न आउँछन् । भट्टीवाल्नी भनेकी चरित्रहीन नारीमात्र हुन्छे भन्ने धारणा बदल्ने मन छ । होटेल भनेको फोहोर र खराब खानामात्र खुवाउने ठाउँ हो भन्ने मानिसको धारणामा पनि परिवर्तन गर्ने चाहना छ । गाउँमा मैले यति गर्न सकेँ भने म आफूलाई भाग्यमानी सम्झने थिएँ ।’

मैले भनेँ– ‘राम्रो विचार रहेछ नानीको । यसका लागि मेरो केही सहयोग चाहियो भने भन्नू ।’

ऊ भन्दै गई– ‘मैले सुनेँ — भट्टी चलाउने सबैकी हुन्छन् भन्ने गलत धारणा पनि रहेछ यो गाउँमा । कृपया अबदेखि हजुरहरूले पनि त्यस्तो धारणा नराख्न अरूलाई पनि भन्नुहोला र मेरो पसललाई उदाहरणीय बनाउन सहयोग गर्नुहोला ।’

उषाको भट्टीलाई हाम्रो गाउँमा नयाँ भट्टी भनिए पनि अब आदर्श चेलीको आश्रमको रूपमा लिइन थालेको छ । बेच्न त रक्सी नै बेचिन्छ तर साँझपछिमात्र । त्यो पनि राति ९ बजेसम्ममात्र । होहल्ला पनि हुँदैन, झगडा पनि हुन पाउँदैन । उसका बूढा कमल थापा मगर पनि सघाउन आइसकेका छन् जो पूर्व प्रहरी निरीक्षकसमेत रहेछन् ।

हाम्रो गाउँमा जहाँ सहरको पनि केही गुण देखिन थालेको थियो । होटल र भट्टीहरु पनि थरीथरीका खुल्न थालेका थिए । होटेल वा भट्टीका बारेमा मानिसको पुरानो धारणा भत्काउन थालेको पनि पाइयो । त्यसैले त अचेल यसो भन्ने पनि देखिन थालेका छन् – ‘गाउँमा भट्टी त नरहेको राम्रो हो तर रहे पनि नयाँ भट्टीजस्तो हुँदा त के भयो र ?’