खुट्टाको व्यापार

खुट्टाको व्यापार



अचेल मान्छे
खुट्टामा जुत्ता होइन
खुट्टामा खुट्टै उनेर हिंड्न थालेको छ
आफ्नो होइन अरुको खुट्टामा दौडेर
खेलहरू जित्न थालेको छ
त्यसैले बजारमा अचेल
जुत्ताको होइन
खुट्टाको किनबेच बढेको छ ।

खुट्टाका हाट बजारहरूमा
हिमाल आरोहणमा कीर्तिमान कायम गरेका
खुट्टाहरू छन्
छातीमा भिक्टोरिया क्रस टाँसेर
अरुकै लागि उभिदिने सर्वकालीन वफादार
खुट्टाहरू छन्
आन्दोलनका मोर्चाहरूमा हिडाएर
तालिम गराइएका आन्दोलनकारी खुट्टाहरू छन् ।

अग्ला खुट्टा, होचा खुट्टा
काला वा गोरा खुट्टा
जता कुदायो उतै कुद्ने
जे बोकायो त्यही बोक्ने
निकै सजिला खुट्टाहरू छन्
यी मुठी खाएर मुरी उब्जाइदिने खुट्टाहरू
मेनपावर कम्पनीद्वारा थोक थोकमा
किनिन्छन् र बेचिन्छन्
आफू भर्‍याङ बनेर
अरुलाई शिखर चढाइदिने खुट्टाहरू
व्यापारीका छनौटमा पर्छन्
आस्था र देश प्रेमका निम्ति
निशुल्क सेवा दिने खुट्टाहरू
नेताहरूका रोजाइमा पर्छन् ।

राज्यले बिकाउ माल बनाइएका यी खुट्टाहरू
आत्मा मरेका खुट्टाहरू हुन्
यी दुःशासनले चीरहरण गर्दा
कुनै कृष्णले नबचाएका
नाङ्गा खुट्टाहरू हुन्
यी द्रोणाचार्यहरूले गुरुदक्षिणामा
औंला होइन
शिर नै मागेर
मुर्कट्टा बनाइएका खुट्टाहरू हुन्
त्यसैले यी खुट्टाहरूलाई
बेचिएकोमा लज्जाबोध हुँदैन
आफ्नो छाला काडेर कसैले
बर्को ओढे पनि पीडाबोध हुँदैन ।

अचेल बजारमा
खुट्टाको हिफाजत गर्ने जुत्ताको भन्दा
खुट्टाकै काम गरिदिने
अर्को जोर खुट्टाको
माग बढ्न थालेको छ
त्यसैले अचेल बजारमा
जुत्ताको होइन
खुट्टाकै किनबेच हुन थालेको छ
छालाको जुत्ताभन्दा सस्तो
हाडमासु सहितको
खुट्टाको व्यापार निकै बढेको छ ।