पीडा र पैसा

पीडा र पैसा



गाउँमा रामप्रसाद लुइँटेलको छोरा अमेरिका पुगेको खबर फैलियो । केही दिनपछि सँगै घरको हरिबहादुर कार्कीको छोरा पनि पैसा कमाउन भनेर मलेसिया गयो । अलि तल बजारछेउ घर भएका श्रीमति मैयाँनानी त्वायनाकी छोरी नर्सिङ पढ्दापढ्दै अष्ट्रेलिया पुगी ।यता पाखामा घर भएका मानबहादुर तामाङका दुई जना छोरा पनि हेर्दाहेर्दै अरब पुगे ।

तल्लाघरे धनबहादुर गुरुङको छोरो पनि बाउको पदचाप पछ्याउदै ब्रिटिश सेनामा भर्ना हुन पुग्यो ।

यसैगरी गाउँका प्रत्येक घरबाट कोही न कोही विदेश नपुगेको भन्ने नै भएन । जसको पनि घरबाट एक न एक जना परदेश गएकै छन् र जानेहरूले अरूलाई प्रेरणा दिने कार्य पनि गरिरहेकै छन् ।

पल्लाघरे हिरालाल विकको छोरा भने जति गर्दा पनि विदेश जान पाएको छैन । कतिलाई भन्यो ! कसैले लगेको होइन । भनेजति पैसा खर्च गर्न नसकेकोले ऊ गाउँमै हल्लिएर हिँडिरहेको छ । घरमा आमाबाबु पनि उसलाई विदेश जान नसक्ने भनेर गाली गरिरहन्थे ।

एकदिन ऊ पनि कसैलाई नभनी घरबाट हिँड्यो । गाउँबाट हिँडेपछि ऊ पनि विदेशै गएको ठाने गाउँलेहरूले । आमाबाबुलाई एक्लो छोरा परदेश गएकोमा कति पनि पीर लागेन । बरु वरिपरि जोरीपारीका बीच आफ्नो छोरा पनि विदेश गयो भन्न पाएकोमा बडो खुसी छन् ।

गाउँमा अचेल सपना देख्ने युवाहरू छैनन् । अब तिनका सपनाहरू वृद्ध र विवाहित महिलाले सम्हालिदिएका छन् । ती प्रत्येक दिन शून्य आँगनमा उभिएर परदेश गएकाहरूलाई गहभरि सम्झँदै सपनाको खेती गर्छन् ।