न्यायाधीश-अधिवक्ता ‘घुस डिल’ प्रकरण सदनमा प्रवेश, सांसद भन्छन्: न्यायालयमा जात्रा चल्यो !

न्यायाधीश-अधिवक्ता ‘घुस डिल’ प्रकरण सदनमा प्रवेश, सांसद भन्छन्: न्यायालयमा जात्रा चल्यो !


ग्लोब नेपाल
162
Shares

काठमाडौं । बचतकर्ताको करोडौं रकम ठगी गरेको आरोप लागेका व्यापारी इच्छाराज तामाङलाई धरौटीमा रिहा गराउन न्यायाधीश र अधिवक्ताबीचको ‘घुस डिल’ अडिओ प्रकरणको विषयले सदनमा समेत प्रवेश पाएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्ने सांसद्‌हरुले न्यायाधीश-अधिवक्ता अडियो प्रकरणको विषयमा आवाज उठाएका हुन्। बैठकको विशेष समयमा सांसद लीलादेवी सिटौलाले न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेनको विषय सार्वजनिक भएपछि नेपालको न्यायालय कस्तो छ भनेर जनताले देख्ने गरी बाहिरिनु दुःखद भएको बताइन् । उनले भनिन्, ‘दुःखका साथ भन्नुपर्छ, यो देशमा सरकारी निकायमा रहनेहरु प्रायजसो सबै राज्यको कोषबाट तलब भत्ता बुझ्नेहरु सेटिङमा रातदिन पैसा कमाउन लागिरहेका छन्।’

सांसद सिटौलाले मुद्रा सञ्चिती संकटमा पुगेको र देश टाट पल्टिएको सन्दर्भ उल्लेख गर्दै अदालतले सेटिङमा घुस खाइरहेको बताइन् । ‘हिजो सुनियो मन्त्रीहरुले पनि सेटिङ गरेर घुस खाएको। अब कर्मचारीतन्त्र त्यस्तै। सबै सेटिङमा घुस खाने, पैसा जोड्ने, घर बनाउने, गाडी जोड्ने’, उनले भनिन्, ‘जनता हेरिरहेका छन्। मैले जनताको आवाज बोलेको हो।’

यस्ता गम्भीर विषयमा सबै सांसदहरू, सरकार र प्रतिपक्षको रूपमा विभाजित नभइ सिङ्गो आवाज बन्नुपर्नेमा उनको जोड थियो।

यस्तै, सांसद गजेन्द्रबहादुर महतले न्यायालय भ्रष्टाचारको अखडा बनिरहेको टिप्पणी गर्दै यसबारेमा व्यवस्थापिका पनि बन्धक भएर बस्न नहुने बताए । महतले अडियो बजारमा आएको भन्दै न्यायालयमा जात्रा चलेको बताए। ‘हुन त न्यायालयमा भएको विचाराधीन मुद्दामा यहाँ बहस गर्न पाइने छैन भनिन्छ’, उनले भने, ‘यो कुरा पुरानो भइसक्यो जस्तो लाग्छ। न्यायालयमा जुन जात्रा चलिरहेको छ, भ्रष्टाचारको अखडा न्यायालय बनेको छ। अब हामी (व्यवस्थापिका) बन्धक भएर बस्न हुँदैन ।’

सांसद महतले अब पनि आफूहरुले न्यायालयको बारेमा कुरा उठाउन नसके, त्यहाँका विचाराधीन मुद्दाका विषयमा बहस गर्न नसके आफूहरु पनि बन्धक हुने बताए। महतले भने, ‘हिजोआजको जात्रा हामीले सुनिरहेकै छौँ। यसलाई टुलुटुलु हेरिरहन सक्दैनौँ। व्यवस्थापिका टुलुटुलु हेरिरहन सक्दैन। हामी जनताका प्रतिनिधि यो जात्रालाई टुलुटुलु हेरिरहन सक्दैनौँ ।’

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच ‘घुस लेनदेन’ का सन्दर्भमा भएको गोप्य संवादको अडियो मंगलबार साँझ एक टेलिभिजनबाट बाहिरिएको थियो।

यि पनि:

न्यायाधीश र अधिवक्ताले घुस डिल गरेको अडियो सार्वजनिक (अडियो सहित)

न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणः तीन सदस्यीय छानबिन समिति गठन

घुस लेनदेन अडियो प्रकरणमा संलग्न न्यायाधीशले भने: म बाट कुनै अनुचित कार्य भएको छैन

न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न नेपाल बारको माग

२ करोड घुस डिलको न्यायाधीश–अधिवक्ता संवाद