राम्रा ! नराम्रा !

राम्रा ! नराम्रा !



को भन्छ र नराम्रो छु ? नजाती कुन बन्छ र ?
छ ईश्वर तिमीभित्र सोच रे शिव सुन्दर ।

राष्ट्रकवि माधव घिमिरेको कविताको उपर्युक्त मार्मिक भावजस्तै मानिस आफ्नालाई नराम्रो भन्न चाहन्न र ऊ नजाती बन्न पनि चाहँदैन । आफुभित्रको ईश्वरलाई आत्मसात् गरेर सदा सत्यम् शिवम् सुन्दरम्को सोच राख्नु मानवीय विशेषता हो तर आज हामी हाम्रो परिवेशमा फैलिइरहेको विकृति र विसङ्गतिको हावामा निसासिएर जाती हुनुको मर्यादा नाघ्न बाध्य भएका छौँ । आँखामा राखे पनि नबिझाउने रातिगेडीजस्तै जाती हुन चाहने हामी आफ्नो अधिकार र अस्तित्वका लागि झुत्ते काउछोजस्तै बिझाउने बन्न पुग्छौँ । राम्रो खोल ओढेर नराम्रो व्यवहार र व्यापार गर्ने अनि भद्रता र सहनशीलतालाई कमजोरी ठान्दै अन्याय गर्नेहरूको विरुद्ध चर्को आवाज उठाउने हामी कति नराम्रा !

राम्रा र नराम्राको परिभाषा अनि विशेषता खोजिरहेकी म यसपालि आफै नराम्री बन्न पुगेँ, साह्रै नराम्री ! सजिलो र सुरक्षित सडक यात्राका लागि भन्दै पोखराबाट काठमाडौंको पर्यटक बसको टिकट बुकिङ गरी ढुक्कले बसेकी थिएँ तर जब बस चढ्ने बेला भयो आफ्नो सिटमा पर्यटक बसेको पाएँ । आफ्नो सिट छाडिदिन अनुरोध गरेँ, सुनुवाइ भएन । गाडीवाल भन्छ, ‘अफिसमा भन ।’ अफिसमा कुरा गर्दा भन्छ, ‘गाडीवालालाई भन ।’ पर्यटक महोदयलाई आफ्नो टिकट देखाउँदा भन्छ, ‘मैले यसको पैसा तिरेको छु । त्यसैले छोड्न सक्दिनँ ।’ पछाडिको दुईबाहेक सबै सिट भरिएका हुँदा त्यसैमा पनि बसूँ भन्दा पर्यटक महोदय पूरै सिट ढलाएर सुतेका थिए । घुँडाको समस्या भएकोले सिट उठाउन अनुरोध गरेँ तर जबाफ आयो, ‘मलाई आरामले सुत्नुपर्छ । त्यसैले उठाउन सक्दिनँ ।’

साथमा बच्चा पनि हुनाले मलाई झनै समस्या थियो । अतः गाडीवालासँग आफ्नो सिटको माग गर्दै एउटै सिट दुईजनालाई किन दिएको भन्दै कराएँ । अग्रिम बुकिङ गरेर पनि सिट सुरक्षित नभएकोमा रिसाएँ । ती पर्यटक कान थुन्न थाले भने तिनीहरूको समूहको नेतृत्व गर्ने ‘गाइड’ महोदयले मलाई थर्काउन थाले ‘त्यसरी नबोल्नुस्, विदेशीका सामु बेइज्जत भयो । चुप लागेर बस्नोस् । उनीहरूले के भन्लान् ?’ मलाई खपिनसक्नु भयो र बोलेँ, ‘अर्काले टिकट काटिसकेको, त्यो पनि एउटी महिला र बच्चाको सिटमा जबरजस्ती विदेशी पाहुना राखेर ल्याउँदा तपाईंको इज्जत गएन, मैले आफ्नो अधिकार खोज्दा बेइज्जत भयो ? कहाँको सभ्यता हो यो ? कि पर्यटक बसले नेपाली यात्रु बोक्ने नियम नै नहुनुपर्ने । अन्यथा सबैले नियमअनुसार नै यात्रा गर्नुपर्दछ । विदेशीले नियम पालना गर्न नपर्ने स्वदेशीलाई जे गरे पनि हुने ?’ म त्यसरी नजाती भएपछि पर्यटक समूहकै दुई व्यक्ति सिट साट्न तयार भए । त्यहाँ धेरैले मलाई नराम्रो मानेर हेरे । आफुले टिकट लिएको सिटमा पर्यटक राखेर ल्याएपछि आफु नराम्रो हुनुपरेको यो तेस्रोपटक हो । मेरो कानमा अझै पनि ती विदेशीको ‘नराम्री’ अर्थ बोकेको शब्द गुञ्जिरहेको छ ।

साँच्चै, हामी कति नराम्रा रहेछौ ! हामीकहाँ आएपछि गोरो छाला हुने उताका राम्राहरू पनि नराम्रा भैदिन्छन् । त्यसपछि त हामी नराम्राहरूले उनीहरूले जे गरे पनि राम्रो मानिदिनुपर्ने ! अर्काको सिटमा बलैले बसेको राम्रो ! शौचालयमा हामीहरू लामबद्ध भैरहँदा उनीहरू सरासर भित्र पसिदिएको, सार्वजनिक स्थानमा चुरोटको धुवाँ उडाएको, नियम पालना नगरेको सबै राम्रो तर त्यसको आलोचना गर्ने हामी नराम्रा ! उनीहरूले हाम्रो सामाजिक मर्यादा विपरीतको भेषभुसा र जीवनशैलीमा खुलेआम हिँडेको कति राम्रो ! गोरो छाला देख्यो कि नतमस्तक हुने हाम्रो कालो मानसिकताका कारण हामी आफ्नो देशमा आएका गोराहरूले जे गरे पनि राम्रो मान्छौँ । चाहे लागूपदार्थ सेवन गरी झुम्मिँदै बसून्, चाहे सार्वजनिक स्थलमा युवायुवती आलिङ्गनबद्ध भएर वा अर्धनग्न भएर हिँडून्, त्यसलाई उनीहरूको संस्कृति भनेर रमाइदिन्छौँ तर आफु उता जानुपर्यो भने भिसा लाग्न नपाउँदै हाफपाइन्ट किन्न थाल्छौँ । मानौँ हाम्रो आफ्नो पहिरनमा त्यहाँ प्रवेश नै पाइँदैन ! विदेश जाँदा आफ्नो संस्कृति र परम्परा विमानस्थलमा नै छाडेर जाने हामी कति राम्रा ! अरूले आफुलाई भलै पाखे किन नभनून्, आफ्नो परम्परा नछाड्ने र विदेशी संस्कृतिको पछि नभाग्ने हामी कति नराम्रा ! पार्टी तथा जमघटमा मादक पदार्थले लट्ठिएर पाश्चात्य सङ्गीतमा हल्लन जान्नेहरू मात्र राम्रा बाँकी सादा जीवनशैलीका हामी कति नराम्रा !

हामीकहाँ दिनानुदिन बढिरहेको विकृति–विसङ्गति र दण्डहीनताको संस्कृतिले इमानदार र न्यायप्रियहरूलाई साह्रै नराम्रा बनाइरहेको छ । व्यापार–व्यवसायका नाममा निम्नतम इमानदारितासम्म पालना नगरी लुट्नेहरू सबै राम्रा ! हरियो प्लेटका गाडीमा पर्यटक नपाउँदा नेपाली चढाउने अनि नेपालीलाई जे गरे पनि हुन्छ भन्दै विदेशीसामु अपमानित गर्ने तथा अन्य सुविधा भन्दै चर्को भाडा लिने तर एक बोतल पानीबाहेक कुनै सुविधा नदिने यातायात व्यावसायी कति जाती ! मूल्यअनुसारको सुविधा माग गर्ने सचेत उपभोक्ता कति नजाती !

हुने काम लिएर सरकारी निकायमा जाने सर्वसाधारणको काम नहुने तर नहुने कामका साथै ‘खाम’ पनि लिएर जानेहरूको काम फटाफट हुने संस्कृतिले हामीलाई टेबुल–कुर्सी भाँच्ने संस्कार सिकाइरहेछ किनकि, टेबुल ठोक्नासाथ तुरुन्तै काम बनिहाल्छ ! अनि त हामी सोझासाझा पनि टेबुल ठोक्ने ‘नराम्रा’ बन्न बाध्य हुन्छौँ । कार्यक्षेत्रमा जब कुनै महिला स्वाभिमानपूर्वक अघि बढ्न खोज्छे तब पितृसत्तात्मक मानसिकताले पोषित पुरुषवर्ग उसलाई आफ्नो अधिनमा राख्न खोज्छन् । विद्रोह गरी भने बदनाम गराउने मात्र होइन वृत्तिविकासमा नै रोक लगाइदिन्छन् । मिल्ने भए उसले श्वास लिने हावामा समेत नाकाबन्दी गर्दाहुन् । अनि त ऊ प्रतिकारका लागि त्यसरी नै ‘नराम्री’ बन्न बाध्य हुन्छे जसरी सुन्दर–सौम्य गौरी आशुरी अत्याचारविरुद्ध उग्र महाकाली बन्छिन् । आफुमाथि हुने उत्पीडनविरुद्ध विद्रोह गर्ने हामी कति नराम्रा ! हाँगाबाट चोइट्याएर मन लागुञ्जेल मुट्ठीमा खेलाउँदै धित मरेपछि जुत्ताले कुल्चेर रछानमा मिल्क्याउँदा पनि मौन बस्ने ‘फूल’जस्ता कति जाती ! आफुमाथि गिद्धेदृष्टि राख्नेहरूलाई रगताम्ये पारेर चिथोरिदिने ‘काँडा’जस्ता अस्तित्ववादी हामी कति नजाती ! आफ्नो स्वार्थ पूरा गर्न गधा पनि पुज्ने अनि सेतोलाई कालो भन्न नहिच्किचाउने हामी कति राम्रा ! परिणाम जस्तोसुकै भोग्न परे पनि कालोलाई कालै र सेतोलाई सेतै भन्न सक्ने निर्भीक हामी कति नराम्रा !

वर्षौँ पुरानो अनि धमिरा लागिसकेको नोटकापी बोकेर कक्षाकोठामा पस्ने अनि हु–बहु टिपाइदिने हामी शिक्षक–प्राध्यापक कति जाती ! विद्यार्थीलाई स्वयम् खोज–अनुसन्धान गर्न लगाई व्यवहारिक शिक्षा दिन चाहने हामी ‘अल्छी’ शिक्षक–प्राध्यापक कति नजाती ! खामभित्रको दामअनुसार कृति मूल्याङ्कन गरिदिने भूमिका लेखक–समालोचक कति जाती ! कृतिभित्र पसेर यथार्थपरक मूल्याङ्कन गरिदिने ‘छुचा’ समालोचक कति नजाती ! अरूको काँध चढी मञ्चमा पुगेर भाषण छाँट्ने विद्वानहरू कति राम्रा ! मौलिक प्रतिभाका धनी भएर पनि स्वाभिमानका कारण ओझेलमा परेका स्रष्टा–द्रष्टारू कति नराम्रा ! मीठा–मीठा सपना बाँड्दै र ठूल्ठूला आश्वासन दिएर सत्तामा पुग्ने अनि जनताका लागि ज्यानै अर्पन्छु भनेर भाषण गर्ने तर देश–जनताका नाममा सिन्को नभाँची उल्टै जनताको रगत–पसिनाले भरेको ढुकुटी रित्याउने ‘सुकिलाहरू’ कति राम्रा ! त्यसको विरोध गर्ने झुत्रेझाम्रे हामी कति नराम्रा ! धमिलिएको खोलो झनै धमिल्याएर माछा मार्ने हामी कति राम्रा ! धमिलो खोलो कञ्चन बनाएर भावी पुस्तालाई हस्तान्तरण गर्न चाहने हामी कति नराम्रा !