मुलुकमा कोरोना सङ्क्रमण फेरि बढ्दै

मुलुकमा कोरोना सङ्क्रमण फेरि बढ्दै

भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन हुँदै


ग्लोब नेपाल
270
Shares

काठमाडौं । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा स्वास्थ्य मापदण्ड पालना नगर्नुजस्ता कारणले सङ्क्रमण बढेको पाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताए । उनका अनुसार ०.५ प्रतिशतसम्म झरेको सङ्क्रमणको दर अहिले ६ प्रतिशत पुगेको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा कम चार जनामा देखिएको थियो । सङ्क्रमण बढ्दा सक्रिय सङ्क्रमित पनि बढिरहेका छन् । अहिले २९७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

असार १ गते तीन हजार ९०५ जनामा परीक्षण गराउँदा २५ जनामा सङ्क्रमण भएकामा असार १७ गते दुई हजार ८१४ जनामा परीक्षण गर्दा दोब्बरमा सङ्क्रमण देखिएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढेका कारणले नेपालमा पनि बढेको जानकारी दिए ।

उनले अहिले देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्ट (BA4 वा BA5U) प्रजातिको हो वा होइन भन्नेबारेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अणु वाङ्शिक अध्ययन भइरहेको जानकारी दिए । नेपालमा अहिलेसम्म ओमिक्रोनको BA2 प्रजातिको भेरियन्ट रहेको छ । उनका अनुसार अहिलेका बिरामीमा पहिलेका सङ्क्रमतिलाई जस्तै सामान्य लक्षण देखिएको छ ।