एउटा पुरुष

एउटा पुरुष



उसको सुगन्ध जब फिँजिन्छ, लट्ठिएर मदमस्त हुन्छु
एउटा पुरुष छ
उसलाई आलिङ्गनमा बाँधिरहन चाहन्छु ।

जब ऊ मेरो समीप आउँछ
उसलाई नयन–नदी पौडन दिन्छु
उसलाई आनन्दसागर पुर्याउन खोज्छु ।

सबथोक सम्हालेर प्रेम गर्छु
जबजब ऊ उदार हुन्छ, माया बढ्दै जान्छ
जबजब ऊ अनुदार बन्छ, दया जाग्दै जान्छ ।

एउटा पुरुष छ
जसको उपस्थितिमात्रले पग्लेर पानी बन्छु
या सायद नौनीको कोमल रूप ।

स्पर्शको जादू जब चल्छ
लाग्छ म कुनै नर्तकी हूँ
र उसको सङ्गीतमा संसार भुलेर नाचिरहेछु ।

जब ऊ कुनै दिन अत्यधिक थाकेर शान्त हुन्छ
बिस्तारै माया–मलम लगाइदिन्छु
नउठुन्जेल शान्ति–प्रार्थना गरिरहन्छु ।

एउटा पुरुष छ
जसको सुगन्ध र स्पर्श दुवैको कायल छु
जीवन–उत्सर्ग उसमै छ, मैले बुझ्न थालेको छु ।

कहिले उत्पात रिसाउँछ, बनाइदिन्छु कृपापात्र
र पर्खन्छु थामिउन्जेल
जब ऊ टोलाएर दर्शनमा हराउँछ, मुस्कुराएर संसार फर्काउँछु ।

एउटा पुरुष छ
जो मेरो काखमा सुस्ताएर
स्नेहको शिखर आरोहणमा निस्कन्छ ।

उसका बलिष्ठ पाखुरामा कुनै जादुमयी आकर्षण छ
सृष्टिका अनेकन् आकृति देखाउने विशिष्ट दर्पण छ
उसको सङ्गतमा प्रेम र प्रकृतिका अर्थ बुझ्छु ।

उसको हिम्मत र हिस्सी
उसको अनुभव र ओज
मलाई प्रेमिका बनाइरहन्छ ।

एउटा पुरुष छ र म छु
म छु र नै ऊ छ
धरतीको धर्म, हराभरा सृष्टि, उसँगै मिलेर बन्छ ।