लाहुरे फूल ! म तिम्रो नाम फेर्न चाहन्छु

लाहुरे फूल ! म तिम्रो नाम फेर्न चाहन्छु



वासनारहित तर प्लास्टिक होइनौ
तिमी लाहुरे फूल
म यतिखेर युद्धमा क्षत–विक्षत
मेरा पति सम्झिरहेकी छु
काँचो धागोले बेरिएको चिठी
लाश गन्हाउने पेन्सन
र त्यही पेन्सनको आडमा
बाँचेको जिन्दगी जेनतेन सोचिरहेकी छु
मेरा पतिको जिन्दगी भरको कमाइ
म विधवाको टाउको लुकाउने थलो
र त्यसकै ढोका अगाडि निर्लज्ज फक्रिरहेको
तिमी लाहुरे फूल !

भो, भैगो कति नूनचूक छर्छौ
यो घाउमा
धेरै भयो । जिन्दगी नै घाउ भएको
धेरै भयो । जिन्दगी नै पीडा भएको
एकछिन सुस्ताउन देऊ लाहुरे फूल !

म घाउको पत्र पल्टाएर
सन्धीको इतिहास फेर्न चाहन्छु
म घाउ सुमसुम्याएर
रगतको व्यापार बन्द गर्न चाहन्छु
म यो इतिहासको कालो पानालाई
च्यातेर फाल्न चाहन्छु
पर्ख, लाहुरे फूल !
म तिम्रो नाम फेर्न चाहन्छु ।